‘सरकार र ओलम्पिकबीच तादाम्यता आवश्यक’

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०८०
jeevan ram shrestha

पोखरा । नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको बहुआयामिक पक्षलाई सबैले आत्मसात गर्नुपर्ने बताएका छन् ।

‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’ अवसरमा नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार पोखरामा आयोजना गरेको खेलकुदसम्बन्धी गोष्ठीमा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले दिवस मनाउन लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको बताए । ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभई लुम्बिनी नेपाली खेलकुदको जगसमेत भएकोले उक्त दिवस लुम्बिनीमा मनाउन लागेको बताए । उनले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको खेलकुदको इतिहाससमेत जोड्दै लुम्बिनीबाट शान्तिको सन्देशलाई हामी विश्वसामु पु¥याउन ओलम्पिक कमिटी अघि बढेको छ ।’

खेलाडीका लागि अन्तिम सपना ओलम्पिक खेल हो । खेलाडी योग्यमात्र भएर हुँदैन, ओलम्पिकमा पदक ल्याउन समाजको समेत उत्तिकै हात हुने सुनाए ।

‘खेलाडीले समाजमा जुन रुपमा पाउनुपर्ने अधिकार हो, त्यो नपाउँदा ओलम्पिकसम्मको यात्रा गर्न सम्भव छैन,’ उनले थपे, ‘खेलकुद मैदानमात्र भएर हुँदैन । हामी खेलमात्र खेल्ने मानसिकताबाट माथि उठ्न जरुरी छ । एक खेलाडी अघि बढ्न समाज पनि जोडिएको हुन्छ । विकसित समाज भएको ठाउँका खेलाडी अब्बल हुन्छन् ।’

विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस अवसरमा पोखरामा गोष्ठी

ओलम्पिकको मूल्यमान्यता स्वीकार नगरेसम्म खेलकुद विकास अघि नबढ्ने उल्लेख गर्दै उनले सरकार र ओलम्पिकबीच तादाम्यता नमिल्दा कुनै बेला नेपाली खेलकुदले गतिरोध समेत व्यर्होनुपरेको जनाए । समाजमा अझै पनि खेलकुद अनुत्पादक क्षेत्र हो भन्ने विषयबाट अझै नेपाली समाज बाहिर निस्कन नसकेको जनाउँदै अध्यक्ष श्रेष्ठले समाजले खेलकुदका बहुआयमिक पक्ष आत्मसात गर्दै यसका सवल पक्ष उजगार गर्न सके खेलकुदले फड्को मार्न सक्ने बताए । उनले भने, ‘ओलम्पिक जागरण र अभियान हो । यसले समाजमा सभ्यता र सचेतनातर्फ अघि बढाउन सहयोग पुग्छ । त्यसैले यो अभियानमा अघि बढ्न म यो अवसरमा आह्वान गर्छु ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले खेलकुदमा लगानीमा प्राथमिकता दिएको बताए । पोखरा पर्यटनको राजधानी घोषित भएकाले खेल पर्यटन यसको हाँगाको रुपमा रहेको उनको भनाइ थियो ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलकुदमा हुने राजनीतिले खेलाडीमाथि ठूलो अन्याय भइरहेको बताए । खेलाडीका लागि ओलम्पिक नै सबैभन्दा ठूलो उपाधि रहेकाले खेल क्षेत्रको नेतृत्वमा राजनीतिकरण नगरी खेलाडी नै हुनुपर्नेमा जोड दिए । कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले प्राचीन ओलम्पिक र वर्तमान नेपाली खेलकुदको अवस्था, अन्तर्राष्ट्रिय खेलकुद दिवसको महत्वबारे जानकारी गराउँदै विश्वमा शान्ति ल्याउन खेलकुद दिवसको भूमिका महत्वपूर्ण रहेको बताए ।

मञ्चका कावा अध्यक्ष दिलबहादुर गुरुङले खेलकुदमा लगानी कम भएको गुनासो गरे । कार्यक्रममा खेलसम्बद्ध सरोकारवाला निकायको प्रतिनिधिको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै