ज्ञानसागर एकेडेमीमा शैक्षिक प्रदर्शनी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
Gyansagar
पोखरा । हेमजास्थित ज्ञानसागर एकेडेमीमा सोमबार शैक्षिक प्रदर्शनी एवम् असल अभिभावक अभिमुखीकरण कार्यक्रम भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्राज्ञ एवं गायिका हरिदेवी कोइरालाले ज्ञानको महिमा अपरम्पार रहने उल्लेख गर्दै पढ्नु भनेको जीवनलाई सुसंस्कृत बनाउनुपर्ने रहेको बताइन् । उनले प्रविधिमैत्री व्यावहारिक शिक्षामा जोड दिँदै बालबच्चालाई संस्कार, संस्कृति एवम् आचारणका बारेमा घरबाटै सिकाउनुपर्ने औंल्याइन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक एवं विद्यालयका प्रमुख सल्लाहकार बाबुराम पौडेलले शिक्षाको पहिलो लक्ष्य बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्नु रहेको उल्लेख गर्दै त्यसमा ज्ञानसागरले सकारात्मक प्रयास गरिरहेको जनाए । उनले पोखरा २५ को वार्षिक शैक्षिक योजना निर्माण गर्न आफू लागि परेको पनि बताए ।
त्यस अवसरमा प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, सामाजसेवी भीमप्रसाद श्रेष्ठ, अभिभावक संघका अध्यक्ष डिल्लीराम भण्डारी, पूर्व विद्यार्थी सन्देश विक लगायतले पनि भनाइ राखे । उनीहरुले गुणात्मक शिक्षा दिने थलोका रुपमा ज्ञानसागरलाई चिनाए ।
कार्यक्रमका बीच शिक्षासेवी दीपेन्द्र ढकालले असल अविभावक अभिमुखीकरण बारेमा सहजीकरण गरे ।
प्रधानाध्यापक छन्दमणि त्रिपाठीले जुन श्रेय विद्यालयले पाएको छ त्यो अभिभावकको साथले मात्र सम्भव भएको जनाए ।
कार्यक्रमका बीच विद्यार्थीद्वारा निर्मित प्रिप्राइमरी, अग्रेजी, नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक, स्वास्थ्य शारीरिक एवं कला विषयका विभिन्न सामग्री प्रदर्शन गरियो ।
त्यस्तै विद्यार्थी आर्या त्रिपाठी तथा अनसुया त्रिपाठीले विद्यालयका विभिन्न गतिविधिलाई ज्ञानसागर आवाजका रुपमा प्रस्तुत गरे ।
विद्यालयका अध्यक्ष टोलप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी निकिता भण्डारी,  तथा सञ्चालक भरतराज अधिकारीले स्वागत तथा संस्थापक शैक्षिक निर्देशक छन्दिका त्रिपाठीले कार्यक्रम सञ्चालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts