रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Ratnashova

लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव र सहकार्यका निम्ति भन्दै विद्यालयको एसएलसी ब्याच २०४३–२०४५ ले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विद्यालयका भूपू शिक्षकहरुलाई ढाका टोपी, खादा र मालाले सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक तोयनाथ लामिछाने, शिक्षक चिरञ्जीवी बञ्जरा, पदमराज ढकाल, बाबुराम केसी, इन्द्रप्रसाद जैसी, दुर्गाप्रसाद लामिछाने, वर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी, संस्थापक विद्यालय व्यवस्थापन समितिका सदस्य रामलाल तिवारी, पहिलो एसएलसी ब्याच २०४३ का विद्यार्थी गुरुदत्त कोइराला र रमानाथ आचार्यलाई सम्मान गरिएको हो ।

कार्यक्रममा पोखरा २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले भूपू विद्यार्थीले आफूले पढेको विद्यालयको शैक्षिक उन्नयनका लागि सक्दो सहयोग गरी गुणस्तरीय शिक्षाका लागि पहल कदमी गर्नुपर्ने सुझाव राखे ।

भूपू शिक्षक तथा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफूले पढेको विद्यालयका लागि आर्थिक, भौतिक तथा शैक्षिक विकासमा सहयोग पुग्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे । संस्थापक प्रअ तोयनाथ लामिछानेले मातृभूमिको शैक्षिक विकासका लागि भूपू विद्यार्थीहरूले पैसा मात्र होइन, भावनात्मक सम्बन्ध स्थापित गरी सरकारी निकायमा सहयोगका लागि पहल कदमी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले सबैको साथ र सहयोगले विद्यालय अहिलेको अवस्थासम्म आएको र आगामी दिनमा पनि विद्यालको भौतिक तथा शैक्षिक विकासका लागि भूपू विद्यार्थीले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।
पहिलो ब्याजका विद्यार्थी गुरुदत्त कोइरालाले आफूले पढेको विद्यालयप्रति सदैव उत्तरदायी भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।

भेला आयोजक समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य हरिप्रसाद लामिछानेले भूपू विद्यार्थीको भेला गर्नुपर्ने आवश्यकता औंल्याए । महिला सदस्य नारायणी कोइराला र कालीदास भुर्तेलले हरेक असल कामको सुरुआत आफैंबाट गर्नुपर्ने दिए ।

सोही अवसरमा भूपू विद्यार्थी भरतबहादुर खड्का, रामबहादुर गुरुङ, प्रेमप्रसाद अधिकारी, सूर्यप्रकाश तिवारी, हरिप्रसाद लामिछाने, प्रेमबहादुर खड्कालगायतले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग