निर्माण व्यवसायी संघ स्याङ्जामा अर्जुन

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
Nirman

स्याङ्जा । निर्माण व्यवसायी संघ स्याङ्जाको १४ औं वार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले शनिबार अर्जुन कार्कीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष दिलीपकुमार बगाले, प्रथम उपाध्यक्ष हेमन्तकुमार मल्ल, उपाध्यक्ष हनिफ मिया, महासचिव विष्णुप्रसाद पोखरेल, सचिव राजु अधिकारी कोषाध्यक्ष महेशकुमार थापा निर्वाचित भए । सदस्यहरू दुर्गानारायण श्रेष्ठ, जगत्प्रसाद कोइराला, कमला थापा, प्रेमनारायण डोटेल, मनोज श्रेष्ठ, भरत मल्ल, राजकुमार लामा, देवीप्रसाद रेग्मी, सुनील चापागाईं र गौरव प्रधान निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता तुलसी गिरीले जानकारी दिए ।

अधिवेशन उद्घाटन गर्दै संघका संरक्षक एवं प्रतिनिधिसभा सदस्य राजु थापाले निर्माण व्यवसायीले गुणस्तरीयता र सरकारले निर्माण व्यवसायीका लगानीबारे ध्यान दिनुपर्ने बताए । निर्माण व्यवसायी र सरकार एक अर्काका परिपूरक रहेको जनाउँदै एक बिना अर्काको अस्तित्व पूरा नहुने उनको भनाइ थियो ।

व्यवसायीले आफ्ना निजी सम्पत्तिसमेत लगानी गरेर निर्माण गर्नुपर्ने अवस्था आउनु दुखद् रहेको जनाउँदै यसतर्फ सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए । सरकारी कामका लागि बिना झन्झट समयमै काम र भुक्तानीको व्यवस्था प्रणाली सहज बनाउनुपर्नेमा सांसद् थापाको जोड थियो ।

कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्ल, गण्डकी प्रदेशका निवर्तमान सांसद भागवतप्रकाश मल्ल, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, केन्द्रीय सदस्य सूर्य श्रेष्ठ, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंक बराल, कास्की जिल्ला अध्यक्ष लीलकाजी गुरुङ, निर्माण व्यवसायी रामचन्द्र पंगेनीलगायतले निर्माण व्यवसायमा भएका चुनौती र अवसरबारे जानकारी गराए ।

निर्माण व्यवसायी संघका अध्यक्ष बुद्धिमान शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिलीककुमार बगालेले स्वागत र सचिव हनिफ मियाले सञ्चालन गरेका थिए ।

यसैबीच, नवनिर्वाचित पदाधिकारीसहित सदस्यहरूले आइतवार नै पदभार ग्रहण गरेका छन् । निवर्तमान अध्यक्ष बुद्धिमान शाहीले नवनिर्वाचित अध्यक्ष अर्जुन कार्कीलाई माइन्युट हस्तान्तरण गरे ।

कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नवनिर्वाचित संघका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार बगाले, महासचिव विष्णुप्रसाद पोखरेल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width