हेम्जामा सारंगी प्रशिक्षण कार्यक्रम

आदर्श समाज सम्वाददाता
माघ २८, २०८०
gandaki academy news 28 magh

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा गरेको सारंगी प्रशिक्षण कार्यक्रम सकिएको छ । कास्कीको हेम्जामा १ महिना तालिम चलेको थियो ।

प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी थिए । उनीहरुलाई स्थापित सारंगीवादक सम्मरबहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले वैदिक काल भन्दा अगाडि सारंगीको उत्पत्ति भएको बताए । एक तार हुँदै आज सारंगीको विकसित रुप चार तारसम्म आइपुगेको उनको भनाइ थियो । ऐतिहासिक महत्व बोकेको सारंगी गन्धर्व समुदायसँग जोडिनु खुसीको कुरा भएको उनले सुनाए ।

प्रशिक्षण कार्यक्रमका सहजकर्ता सम्मरबहादुर गायकले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिढीलाई आर्कषण गरेको बताए । एक महिनको समय अवधि कम भएको भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर आयोजना भइरहनुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताए । पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेषभूषा र संस्कृति प्रति उदासिन बन्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा पोखरा २५ हेम्जाका वडाध्यक्ष मोतिलाल तिम्सिना, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्णप्रसाद पौडेल, प्राज्ञ डिलकुमारी पौडेले लगायत सहभागी थिए । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम गत पुस २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width