टाइगर कप: हेल्प नेपाल र एपिएफलाई उपाधि

आदर्श समाज सम्वाददाता
माघ ७, २०८०
Tiger Cup Final Photo

पोखरा । टाइगर ग्रुप अफ नेपालको आयोजनामा भएको चौथो टाइगर कप भलिबल प्रतियोगिताको उपाधि एपिएफ र हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफले उपाधि जितेको हो । हेल्प नेपालले घरेलु टिम गण्डकीलाई ३–१ को सेटमा हराएको हो भने महिलातर्फ एपिएफले न्यु डायमन्डलाई हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो ।

पुरुषतर्फको खेलमा ३ पाकिस्तानी सम्मिलित हेल्प नेपालले ३ भारतीय खेलाडी लिएर मैदान उत्रेको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई हराएको हो । पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोस्रो सेट २५–१८ ले जित्दै दबाबमा राखेको थियो । तेस्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जित्यो । तर, चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधिसमेत जितेको छ ।

हेल्प नेपालको प्रतियोगितामा यो दोस्रो सहभागिता हो । क्लबले दोस्रो संस्करणमा सहभागिता जनाएको थियो । त्यो समयमा दोस्रो स्थानमा रहेको थियोे ।

महिलातर्फ फाइनलमा चन्द्रागिरी न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक लगातार उपाधि जितेको हो । एपिएफले २५–२०, २५–१८ र २५–२१ सेटमा जित निकालेको थियो ।

उपाधि जितेको हेल्प नेपाल र एपिएफले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । उपबिजेता गण्डकी प्रदेश र न्यु डायमन्डले नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार नै सम्पन्न तेस्रो स्थानको खेलमा एपिएफले पाहुना टोली श्रीलंका आर्मी टिमलाई सोझो ३–० सेटमा पराजित गरेको छ ।

महिलातर्फ फाइनलमा चन्द्रागिरी न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक लगातार उपाधि जितेको हो

पहिलो सेट २५–२३, दोस्रो सेट २५–२१ र तेस्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको हो । एपिएफले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको हो । शुक्रबार भएको महिलातर्फको तेस्रो स्थानको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । तेस्रो भएको आर्मीले पनि नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।

निरुता र फखर सर्वोत्कृष्ट

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपालका फखर उद्दिन र महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी भएका छन् । उद्दिन पाकीस्तानी खेलाडी हुन् । उनीहरूले ट्रफीका साथमा जनही नगद २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

अन्य विधागत पुरस्कारमा पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा हेल्प नेपालका पाकिस्तानी खेलाडी मजहर अली, कासिफ उत्कृष्ट सेटर र दीपक थापा उत्कृष्ट लिब्रो घोषित भए भने हेल्प नेपालकै उत्सव खड्का उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आंगामुथु उत्कृष्ट ब्लकर बने । उनीहरूले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे ।

महिलातर्फ उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, सर्भरमा एपिएफकै जस्मिता महतो चुनिइन् । उत्कृष्ट सर्भरमा न्यु डायमन्डकी बालमिका आचार्य र उत्कृष्ट लिब्रो न्यु डायमन्डकै सलिना श्रेष्ठ बनिन् । उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का भइन् उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरूले पनि जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।

गत माघ १ गतेबाट सञ्चालित चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लबस्तरिय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाएका थिए ।

बिजेता टिम तथा खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपानेलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width