गण्डकी प्रदेश ह्याण्डबल संघमा केशव

आदर्श समाज सम्वाददाता
पौष २४, २०८०
Handball Photo

पोखरा । गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समिति अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । उपाध्यक्षमा गिरमान गुरुङ, महिला उपाध्यक्षमा शान्ति थापा वैद्य, महासचिव राजेन्द्र पहाडी, सचिव विशाल क्षत्री, कोषाध्यक्ष बिना गोतामे चयन भए । सदस्यमा प्रदीप बगाले, पार्वती विक, अधिप पाण्डे, मोहन गुरुङ, तिलकबहादुर अधिकारी, कृष्णसिंह बस्नेत र कल्याण भण्डारी चयन भए ।

यसअघि भेलालाई सम्बोधन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे । उनले खेल संघहरुलाई सुशासनतर्फ अघि बढाउने प्रयासमा परिषद् रहेको जनाउँदै नवगठित समितिले ह्याण्डबल खेलाडीको उत्पादन र विकासको गतिलाई समेत संगै–संगै अघि बढाउनेमा आफू विश्वस्त रहेको बताए ।

परिषद्का कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ, ऋषीराम गौतम, पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी देवेन्द्रकुमार शेरचनले शुभकामना तथा बधाई दिंदै नवगठित कार्यसमितिले ह्याण्डबल खेलको विकासमा आ–आफ्नो ठाउँबाट सक्दो प्रयास गर्न र दर्शौको तयारीका लागि योजनावद्धरुपमा कार्य गर्न आग्रह गरे ।

प्रदेश खेलकुद विकास ऐन, २०७७ र प्रदेश खेलकुद विकास नियमावली, २०७८ अनुसार गठन भएको प्रदेश ह्याण्डबल संघलाई गति दिने गरी योजना निर्माण गर्ने प्रतिबद्धता नवगठित समितिका अध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलाले केन्द्रीय प्रतिनिधिमा पूर्व राष्ट्रिय ह्याण्डबल खेलाडी शेरचनलाई चयन गरेको छ भने गण्डकी प्रदेशको प्रशिक्षकको जिम्मेवारी ह्याण्डबल प्रशिक्षक रामबहादुर क्षेत्रीलाई दिने निर्णयसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width