बजेटका लागि खेलकुद परिषदको गुहार

आदर्श समाज सम्वाददाता
पौष १२, २०८०
gandaki sports

पोखरा । दसौं राष्ट्रिय खेलकुदलगायत, राष्ट्रपति कप र बागमतीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको तयारीको लागि गण्डकी प्रदेशमा बजेट अभाव भएको छ । प्रदेश खेलकुद परिषद गण्डकी प्रदेश पोखराले बिहीबार खेलकुदसँग सम्बन्धित सरोकारवालासँगको छलफल कार्यक्रमको आयोजना गरेर यो विषयमा जानकारी गराएको हो ।

परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार दोस्रो गण्डकी प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि जिल्लास्तरीय छनोट तथा प्रदेशस्तरीय प्रतियोगिता र बन्द प्रशिक्षणका लागि ५ करोड रुपैयाँ २४ लाख ८७ हजार रुपैयाँ बजेट आवश्यक हुनेमा जम्मा २ करोड रुपैयाँ मात्र बजेट छुट्याइएपछि समस्या भएको हो । नपुग रहेको ३ करोड २४ लाग ८७ हजार रुपैयाँको व्यवस्था नहुने हो भने समस्या आउने देखिएको उनले खुलाए ।

छलफलबाट कर्णाली प्रदेशमा आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रदेश खेलकुद विकास बोर्ड वागमती प्रदेशद्वारा फागुन २४ देखि ३० गते सम्म १४ वटा खेलहरुको अन्तर प्रदेश खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको टिम सहभागीका लागि खेलाडी छनौट प्रतियोगिता, विशेष प्रशिक्षण तथा सहभागिताको लागि आवश्यक बजेट प्रयाप्त नभएकोले थप बजेट निकासाको लागि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश खेलकुद परिषदका सल्लाहकार, विभिन्न राजनितिक दलका खेलकुद भातृ संघका अध्यक्षहरु, खेल संघका प्रतिनिधि, खेलसँग सम्बन्धीत विभिन्न क्लब तथा संस्थाका प्रतिनिधि र सञ्चारकर्मी समेतको उपस्थितिमा छलफल भएको हो । सहभागीले नवौं संस्करणको खेलकुद प्रतियोगितामा कुल ३२ वटा स्वर्ण सहित प्रदेशतर्फ सर्वाेत्कृष्ट भएर गण्डकीले बनाएको रेकर्डलाई कायम गर्दै त्यो भन्दा सुधारिएको खेलको माध्यमबाट पदक संख्या बढाउन मिहिन ढंगले लाग्नुपर्ने बताए ।

यसैगरी छलफलबाट प्रदेश खेलकुद परिषद गण्डकीबाट जिल्ला खेलकुद विकास समितिहरुको आम्दानी व्यवस्थापन र प्रदेश तथा जिल्ला खेलकुद संघ संस्थाहरुको नविकरण आवद्धताको व्यवस्था रेफ्री, जज, खेल सञ्चालक प्राविधिक तथा प्रशिक्षकहरुको सूचीकरण सम्बन्धी प्रयास सम्बन्धी जानकारी प्राप्त गरी उक्त कार्यमा सबै सरोकारवालाबाट सहयोगको लागि अनुरोध गर्ने र जिल्ला खेलकुद विकास समितिहरुले पालिका तहसम्म समन्वयको भूमिका वृद्धि गर्न जिल्ला खेलकुद विकास समितिहरुलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । अहिले गण्डकी प्रदेशमा ५ सय ९४ जना रेफ्री, जज, खेल सञ्चालक प्राविधिक तथा प्रशिक्षकहरु सूचीकृत भएका छन् । यसरी सूचीकृत हुनेमा कास्कीका मात्र २ सय ७४ जना छन् ।

आफ्नो कार्यकालमा भए गरेका गतिविधि तथा अब गर्नुपर्ने केही कार्यक्रमको बारेमा परिषदका संस्थापक सदस्य–सचिव तेजबहादुर गुरुङले भनाई राखेका थिए । पछिल्लो समयमा खेलसंघ नविकरण हुने क्रम समेत घटेको पाइएका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width