वैदेशिक रोजगारीमा ठगीको जालो

विजय नेपाल
पौष ३, २०८०
thagi news bj

पोखरा । मादी ७, याङ्जाकोटकी पार्वती परियार गत वर्ष एजेन्टमार्फत घरेलु कामदारका लागि कुवेत उडिन् । त्यहाँ पुगेपछि उनलाई लाग्यो, यो त सोचेजस्तो रहेनछ । खान नदिने, कुट्ने तथा तलब नदिएपछि उनले सहन सकिनन् ।

एजेन्टले आफूलाई फसाएको महसुससँगै उनी ज्यानको असुरक्षा देखेपछि नेपाल फर्किन चाहिन् । वैदेशिक रोजगार बोर्ड र सुरक्षित आप्रवासन (सामी) परियोजनाको पहलमा ६ महिनामै उनी स्वदेश फर्किइन् ।

३५ वर्षीया पार्वती परियारलाई घरमा लोग्नेले हेलाहोचो गरेपछि २ छोरीहरु पाल्न विदेशिन बाध्य भएको बताउँछिन् । उनले भनिन्, ‘मलाई त यस्तो भयो । विदेश जाँदा सकेसम्म बुझेर जानू, घरेलु कामदारमा नजानू, श्रमसम्झौता गरेर जानू ।’ पतिको हेलाहोचो सहेर बसेकी उनले वैदेशिक रोजगार चक्करमा उनले १ लाख भन्दा बढी रकम गुमाएकी छन् ।

साथीभाइको लहैलहैमा माल्टा जाने भनी लमजुङ क्लोलासोथार ९, टक्सारका २४ वर्षीय नवीन गुरुङले पनि २ लाख २० हजार रुपैयाँ डुबाएका छन् । नयाँदिल्लीस्थित दूतावासले भिसा दिन इन्कार गरेपछि उनी माल्टा जान त पाएनन् नै ठूलो रकम पनि डुब्यो । एजेन्टलाई ४ लाख बुझाएका उनको भिसा नआएपछि सम्बन्धित निकायमा उजुरी दिएकोमा बल्लतल्ल १ लाख ८० हजार फिर्ता पाए पनि बाँकी मन मारे ।

वैदेशिक रोजगारीक्रममा अनेक तरहले ठगिनेमध्ये पार्वती र नवीन त एजेन्टमार्फत ठगिने उदाहरणमात्र हुन् । वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्नेहरुको संख्या ठूलो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेको पाइन्छ ।

गत आव २०७९/८० मा १ सय ७२ जना मानिस वैदेशिक रोजगारीक्रममा ठगिएको भनी सामीमा उजुरी परेको छ । उजुरी दिनेमध्ये १५ जना महिला हुन् । साथै ४१ जनाको समस्या समाधान भएको छ भने अन्य प्रक्रियामा रहेको सामी परियोजनाअन्तर्गत आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता हेमराज अधिकारीले बताए । पछिल्लो तथ्यांक हेर्दा आफूकहाँ उजुरीको संख्या बढेको उनले जानकारी दिए । अघिल्लो आव २०७८/७९ मा १ सय ३३ र आव २०७७/७८ मा ३५ उजुरी परेका थिए । तीमध्ये महिलाका उजुरी क्रमश १२ र ३ थिए ।

आव २०७९/८० मा उजुरीबापत माग दाबी रकमध्ये महिला पुरुष दुवै गरी कुल ९५ लाख क्षतिपूर्ति दिलाइएको थियो । त्यस्तै, अघिल्लो आव २०७८/७९ मा पुरुषलाई ३९ लाख ९१ हजार तथा महिलालाई २८ लाख २० हजार तथा आव २०७७/७८ मा पुरुषलाई ६ लाख ५५ हजार र महिलालाई १ लाख २५ लाख पीडितमार्फत क्षतिपूर्ति दिलाइएको अधिकारीले बताए ।

यसैगरी, ठगीमा परेको भनी चालु आवको ५ महिनामा ३५ जनाले उजुरी दिइसकेका छन् । जसमा १३ लाख ८० हजार रुपैयाँ ठगी भएको भनी माग दाबी गरिएको छ ।

कास्की प्रहरीमा वैदेशिक रोजगार ठगीसम्बन्धी पोहोर ४१ ठगीका उजुरी दर्ता भए । जसमा साढे १ करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको माग दाबी गरिएको छ । चालु आवको प्रथम चौमासिकमा १५ उजुरी परेकोमा ८४ लाख ५० हजार रुपैयाँ बराबरको रकम ठगी भएको दाबी गरिएको प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।

उता, जिल्ला प्रशासन कार्यालय कास्कीले पनि ठगीसम्बन्धी ठाडो उजुरी लिने गरेको छ । कार्यालयका नासु चेतराज आचार्यले वैदेशिक रोजगारीसहित विभिन्न ठगीमा परेको भनी मासिक कम्तीमा ३० उजुरी पर्ने गरेको बताए ।

आफूहरुले त्यस्ता उजुरीमध्ये रकम बुझाएको भौचरमा वैदेशिक रोजगार लेखेका भएमात्र वैदेशिक रोजगार विभागमा पठाउने गरेको बताए । नभए जिल्ला तहमै मुद्दाको किनारा लगाउने गरेको उनको भनाइ छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मी गत वर्ष वैदेशिक रोजगारीक्रममा करिब ४ करोड रुपैयाँ हाराहारी ठगिएको भनी उजुरी दर्ता भएको बताउँछन् । यस मामिलामा ठगी रकम अझ बढी हुन सक्ने उनको अनुमान छ । रेग्मी भन्छन्, ‘सामान्य लेनदेन घटनामा उजुरी दिने गरिए पनि वैदेशिक रोजगारका क्रममा हुने ठगीका घटनामा उजुरी कहाँ दिने, कसरी दिने भन्नेमा कतिपय अझै अनविज्ञ हुँदा पर्याप्त उजुरी आउन नसकेको हुन सक्छ ।’ वैदेशिक रोजगारीबाट सम्भावित ठगीबाट जोगिन जनचेतना आवश्यक रहेको उनको भनाइ छ । गण्डकीका ११ जिल्लामध्ये सबैभन्दा बढी बागलुङ, नवलपुर, तनहुँ, स्याङ्जा, कास्कीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी पाइन्छ ।

वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृतिको महत्व, स्वास्थ्य परीक्षण, बिमा, अभिमुखीकरण तालिम, पैसा बुझाएको रसिद वा भरपाइ, पासपोर्ट र भिसाको फोटोकपी, नेपालकै विमास्थलको प्रयोग, सीपको महत्व, कानुनी कुरा लगायतबारे संक्षिप्त जानकारी राख्नुपर्ने विज्ञको सुझाव छ ।

Related News

सम्बन्धित समाचार

hero news full width