कृषकलाई मौरी घार

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०८०
hari bastola

पोखरा । मौरीपकेट क्षेत्ररुपमा विस्तार हुँदै गएको पोखरा १६ का कृषकलाई घार वितरण गरिएको छ ।

वडास्तरीय कृषि सञ्जालद्वारा बिहीबार लामाचौरमा आयोजित कार्यक्रमबीच ४ लाख मूल्य बराबरका १ सय आधुनिक घार कृषकलाई वितरण गरिएको हो ।

उत्तीसको काठ र टुनीका फ्रेम रहेको ४ हजार मूल्य रहेको उक्त प्रतिघारमा पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदान र बाँकी स्वयं कृषकले व्यहोर्ने व्यवस्था मिलाइएको छ ।

गत आर्थिक वर्षमा वितरण गरिएका कुल २३ लाख ४६ हजार मूल्य बराबरका १ सय ९३ घारमा फस्टाएका मौरी फोरेर नयाँ घारमा विस्तार गर्ने लक्ष्यका साथ यस वर्ष पनि कृषकलाई खालीघार वितरण गरिएको कार्यक्रममा जानकारी दिइयो ।

पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले कृषकलाई मौरीघार वितरण गर्दै व्यावसायिक मौरीपालनमा जुट्न वडावासीलाई आग्रह गरे । ‘महानगरले यस वडालाई मौरीको पकेट क्षेत्र घोषणा गरि मौरीपालक कृषकलाई सहयोग गर्दै आएको छ,’ उनले भने, ‘मह र घार बिक्रीबाट आयआर्जन गर्दै स्वरोजगार बन्नु आजको आवश्यकता हो ।’

वडा कृषि सञ्जाल अध्यक्ष जितबहादुर बस्नेतका अनुसार महानगरको १३ लाख ९५ हजार रुपैयाँ अनुदान र कृषकको १३ लाख ५१ हजार लगानी भइसकेको छ ।

गत जेठमा वितरण गरिएका घारबाट कृषकले पहिलो पटक मह उत्पादन शुरु गरेको बताउँदै उनले चरनको राम्रो व्यवस्था र कृषकको मेहनतले यस वडा महको हव बन्ने विश्वास व्यक्त गर्दै हालसम्म २ सय ९३ थान मौरीका घार वितरण भएको बताए ।

महानगर कृषि सञ्जालको अनुदान र आफ्नो व्यक्तिगततर्पmबाट मौरी सहितका ६ घार खरिद गरेको बताउने पोखरा १६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले मह बिक्री सुरु गरेको बताइन् ।

अर्मला जुम्लेटीकी सीता कार्कीको घरमा ४ घार छन् । उत्पादित मह बिक्री हँुदैन कि भन्नु पर्दैन खरिद गर्ने ग्राहक घरमै आउँछन् । ५० प्रतिशतमा आज प्राप्त गरेका २ खालीघारमा मौरी राख्ने तयारी गरेकी छन् ।

महानगरको आर्थिक सहयोग एवं कृषि सञ्जालको व्यवस्थापनमा व्यवसायिक कृषकलाई तीनदिने मौरीपालन तालिम समेत प्रदान गरिएको थियो । तालिम लिएका कृषकलाई मात्र अनुदानको घार वितरण गरिने व्यवस्था रहेको छ ।

महानगर कृषि महाशाखाले अर्मलालाई कृषिको हव बनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको बिउ उत्पादन लगायत क्षेत्रमा अनुदानको व्यवस्था गरेर कृषकलाई प्रोत्साहन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width