क्यान्सर रोगीलाई निशुल्क बस सेवा

आदर्श समाज सम्वाददाता
असाेज २५, २०८०
arbud

पोखरा । अर्वुद (क्यान्सर) रोगका बिरामीले यातायातमा निशुल्क सेवा प्राप्त गर्ने भएका छन् । नेपाल अर्वुद रोग निवारण संस्था कास्की र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीबीच सो सम्बन्धमा बिहीबार सम्झौता भएको हो ।

पोखरामा आयोजित समारोहमा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका तर्फबाट अध्यक्ष प्रेमबहादुर भुजेल र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीतर्फबाट योगेन्द्रबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताबमोजिम क्यान्सर प्रभावित र निजसँग यात्रा गर्ने १ जना व्यक्ति गरी २ जनाको परिचय आधारमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका देशभर चल्ने बसमा निशुल्क आवातजावत गर्न पाइनेछ । त्यसका लागि संस्थाले कार्ड उपलब्ध गराउने छ । उक्त कार्ड प्रत्येक ६ महिनामा नवीकरण गर्नुपर्ने छ । साथै संस्थाका आजीवन सदस्यलाई भने संस्थाबाट प्राप्त परिचयपत्र आधारमा १५ प्रतिशतसम्म छुट दिइनेछ ।

उता, कम्पनीमा आबद्ध महिला सदस्यलाई प्रत्येक २ वर्षमा एक पटक कम्पनीको सहकार्यमा भिआइए स्क्रिनिङ र बिएसई सेवा अर्वुद रोग निवारण संस्थाले प्रदान गर्नेछ ।
कम्पनीले गएको ३ वर्षदेखि अर्वुद रोग प्रभावित र आफन्त गरी २ जनालाई निशुल्क बस सेवा प्रवाह गर्दै आएकोमा अध्यक्ष भुजेलले आभार व्यक्त गरे । लोककल्याणकारी र सेवामूलक कार्यलाई निरन्तरता र थप प्रगाढ बनाउन पछिल्लो सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width