उहिलेको बाघखोर अहिले उत्कृष्ट होमस्टे

धनबहादुर गुरुङ
फागुन १०, २०७९
Amaltari Bagkhor Homestay Photo

पोखरा । घनाजंगल । उत्तिकै सिमसार क्षेत्र । जंगलबीच भएर बगेको नारायणी नदी । हात्ती, गैडा, बाघ, मृग लगायत जंगली जीवजन्तु पनि छन् ।

उबेला यिनैको सिकार खेल्न निस्कन्थे, राजारजौटा । बाघ सिकार गर्न खोर नै बनाउँथे । सिकारका लागि निर्मित बाघको खोरैखोर क्षेत्र नामकरण भयो, बाघखोर । यो बाघखोर नवलपुरको कावासोती नगरपालिका वडा १५ मा पर्छ ।

राजाको शासन बिस्तारै सकिंदै गयो । सिकार खेल्ने जमानामा पनि हराउँदै गयो । पछिल्लो समय राजा आफैंले नेपालले वन्यजन्तु संरक्षणका अभियान थालिसकेका थिए । त्यसपछि बाघखोर बिस्तारै मसानघाटमा परिणत हुँदै गयो ।

स्थानीय प्रेमशंकर मर्दनिया थारु सम्झिन्छन्, यहाँ मुसहर बोटे जातिका मानिसको बसोबास रहेका बस्ती नजिकै वरपरका मान्छे मर्दा जलाउने, गाड्ने काम हुन थाल्यो । यहाँका मानिसको आफ्नै संसार थियो । बाहिरी दुनियाँको कुनै साइनो भएन । वन जाने, घाँसदाउरा गर्ने, मेलापात गर्ने दैनिकी थियो । राम्रोसँग लुगा लगाउने चलन पनि थिएन । विद्यालय टाढा थियो । बालबच्चाहरु स्कुल जान्थेनन् । महिलाहरु नयाँ मान्छेसँग बोल्न लजाउँथे । युवा कामको खोजीमा भौंतारिएका हुन्थे । जंगलमा वस्तीआश्रित हुँदा फडानी पनि उत्तिकै थियो ।

मात्र एक दशकमै यहाँ कायापलट भयो । पहिलेको बाघखोर र अहिलेको बाघखोर अमलटारीमा आकाश जमिनको फरक छ । अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेले स्थानीयको जीवनस्तरमा कायापलट गरेको हो । आज अमलटारी देशकै नमुना होमस्टेले परिचित छ ।

कुटो, कोदालो, वनजंगल र ज्याला मजदुरीमा व्यस्त हुने महिला, युवा, वृद्धवृद्धा अहिले होम स्टेमा आउने पाहुनाको सत्कारमा व्यस्त हुन्छन् । चितवन राष्ट्रिय निकुञ्जले बाघखोरलाई अमलटारी बनाउन मुख्य भूमिका खेलेको हो । २०५४ सालमा मध्यवर्ती व्यवस्थापन क्षेत्र (बफरजोन) घोषणा भयो । बफरजोन क्षेत्रमा २२ वटा उपभोक्ता समिति गठन गरिए । तीमध्ये चितवनमा १२, नवलपरासीमा ८ तथा पर्सा र मकवानपुरमा १÷१ वटा उपभोक्ता समिति छन् । तीमध्ये पनि नवलपुरको बाघखोर क्षेत्रले अमलटारी होमस्टे चलाएर कायापलट गरेको छ ।

बफरजोन घोषणा पछि यहाँका स्थानीय निकुञ्ज संरक्षणमा पनि जुटे । प्रेमशंकर मर्दनिया थारु चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अमलटारी उपभोक्ता समिति अध्यक्ष चुनिए । उनकै नेतृत्वले दिगो जीविकोपार्जनका लागि होमस्टे चलाउने योजना बनायो । अनि निकुञ्जकै सहयोगमा यसबारे बुझ्न टोली निस्क्यो, बर्दियाको डल्ला गाउँ होमस्टेतिर ।

अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे चम्किदा स्थानीयको जीवनस्तर फेरियो

डल्ला होमस्टे अवलोकनपछि विश्व वन्यजन्तु कोषको २० औं स्थापना दिवस अवसर पारेर २०७० जेठ ५ मा अमलटारी मध्यवर्ती होमस्टे संचालन भयो । होमस्टे संचालक समिति अध्यक्ष उनै प्रेमशंकर मर्दनिया थारु चुनिए ।

१८ घरबाट सुरु होमस्टे दोस्रो पटकमा थप्दा २४ घरमा पुग्यो । अहिले ३१ घरसम्म फैलिएको छ । आदिवासी जाति थारु र नेपालकै सिमान्तकृत जाति बोटे समुदायले मात्र बाघखोरमा अमलटारी होमस्टे सञ्चालन गरेका छन् । उनीहरु यतिखेर सक्षम भइसकेका छन् । होमस्टे स्थापनापछि जीवनस्तर नै परिवर्तन भएको स्थानीय छनकुमारी महतोले बताइन् । ‘पहिला खेती अरुकोमा खेती किसानी गर्न जानुपथ्र्यो । त्यो पनि बिहानदेखि बेलुकासम्म काम गर्नुपथ्र्यो,’ उनले महतोले भनिन्, ‘अहिले त साह्रै सजिलो भएको छ । घरमै बसी बसी पैसाको जोहो भएको छ ।’ उनका छोरा पनि होमस्टे स्थापनापछि गाउँमै बस्न थालेका छन् । विदेशीएका उनी पाहुना खुसी बनाएर जीवन धान्न सकिने भएपछि गावै फर्किए । होमस्टेमा पाहुनाको चहलपहल सुरु भएपछि उनीजस्तै विदेश गएकाहरु गाउँ फर्किन थालेका छन् ।

अध्यक्ष मर्दनिया सम्झिन्छन्, ‘हरियो वन र डब्लुडब्लुएफ सहयोगमा यहाँसम्म आयौं । यति छिट्टै कायापलट हुँदा हामीलाई सपनाजस्तो लागेको छ ।’ अहिले यहाँ होमस्टे चलाउने परिवारले मासिक कम्तीमा ४० हजार कमाउने गरेको उनले सुनाए । अमलटारी होमस्टे नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपुरको डण्डा र कावासोतीबाट करिब ७ किलोमिटर दक्षिणमा पर्छ ।

दैनिक १ सय जना पाहुना आउने गर्दछन् । पहिल्यै बुकिङ गर्नेहरु पनि छन् । पाहुनाबाट हुने आम्दानीको १० प्रतिशत कार्यालय व्यवस्थापनका लागि राख्ने गरिन्छ । होम स्टे संचालकलाई आम्दानीको ९० प्रतिशत रकम दिने गरिन्छ । अहिले प्रतिव्यक्ति नेपालीका लागि ९ सय ८० र विदेशीका लागि १ हजार ४ सय खर्च लाग्छ । यसमा बेलुकाको खाना, बास र बिहानको खाजा र खाना पाइने अध्यक्ष मर्दनियाले जानकारी दिए । होमस्टेमा एकै रातमा १ सय २४ जनासम्म राख्न सक्ने क्षमता छ ।

सरकारले यसलाई ३७ आंै विश्व पर्यटन दिवसमा गन्तव्य होमस्टे गाउँरूपमा घोषणा गरी प्रवद्र्धन समेत गरेको छ । साथै तारागाउँ विकास समितिले २०७२ सालमा देशकै उत्कृष्ट होमस्टेरूपमा अमलटारी होमस्टेलाई पुरस्कृत गरेकोमा दक्षिण एसियाको पहिलो होमस्टे सिरुबारीको रजत जयन्ती अवसरमा यही वर्ष अमरटारी उत्कृष्ट होम स्टेरुपमा पुरस्कृृत भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width