भलिबलमा डायमन्डको विजयी सुरुवात

आदर्श समाज सम्वाददाता
माघ २१, २०७९
Women’s Volleyball News

पोखरा । होङवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०७९ मा विजयी सुरुवात गरेको छ ।

शेरबहादुर खड्का प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन खेलमा डायमन्डले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–० को जीत निकालेको हो । डायमन्डले आर्मीमाथि २५–२०, २५–१४, २५–१० को सहज जित निकालेको हो । पहिलो सेटको सुरुवातमा ४–० को अग्रता लिदै केही आशा देखाएको सेना त्यसलाई निरन्तरता दिन नसक्दा २५–२० ले डायमन्डलाई खेल सुम्पन पुग्यो ।
दोश्रो र तेश्रो सेटमा सेनालाई डायमन्डले खेलमा फर्कने अवसरनै दिएन । डायमन्डकी रिमा कुँवर प्लेयर अफ दी म्याच घोषित हुँदै १० हजारसहित ट्रफी प्राप्त गरिन् ।

दोश्रो खेलमा साविक विजेता नेपाल एपिएफ क्लबले जीत निकाल्यो । एपिएफले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लबलाई सहज ३–० ले पराजित गर्दै तीन अंक बटुलेको छ । एपिएफले पुलिसलाई २५–२०, २५–२१, २५–२१ ले पराजित गरेको हो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् ।

यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलकुदको विकासमा प्रतिष्ठान र निजी क्षेत्रको महत्व रहेको भन्द्र अन्य निजी संस्था तथा प्रतिष्ठानले पनि खेलकुदमा चासो देखाउनु पर्नेमा जोड दिए । उनले भलिबल खेलको विकास र विस्तारमा शेरबहादुर प्रतिष्ठानले गरेको योगदानको प्रशंसा गर्दै नेपालमा आयोजना हुन लागेको काभा सेन्ट्रल एशिया सिनियर भलिबल प्रतियोगिताका लागि यो छनौट खेलको रुपमा रहन सक्ने समेत बताए ।

प्रतियोगितामा ३ विभागिय टोली सहित न्यु डायमन्डको सहभागिता छ । गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लबको समेत सहभागिता रहने बताइए पनि अन्तिममा उनीहरुले सहभागिता जनाएनन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिता २४ माघसम्म सञ्चालन हुनेछ । विजेता टोलीले ३ लाख र उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

विधागततर्फका उत्कृष्टलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने एक उदयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।

यसैबीच, होङवान्जी न्यु डायमन्डकी लिवेरो एवं राष्ट्रिय टिमकी खेलाडी सलिना श्रेष्ठलाई छैटौं संस्करणको उद्घाटनका अवसरमा शेरबहादुर खड्का प्रतिष्ठानले नगद सहित सम्मान गरेकोछ । खेल कौशलताका कारण राष्ट्रको पहिचानलाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width