भानुभक्त आवासीय माविको अभिभावक दिवस

आदर्श समाज सम्वाददाता
माघ १५, २०७९
bhanubhakta

पोखरा । पोखरा १ सिम्पानीस्थित भानुभक्त आवासीय माध्यमिक विद्यालयको ३६ औं अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह २०७९ सम्पन्न भएको छ ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक अम्बिकाप्रसाद आचार्यले गुणस्तरका हिसाबले पोखराको उत्कृष्ट विद्यालय बन्न उक्त विद्यालयलाई शुभकामना प्रकट गरे ।

शिक्षा विकास समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले भानुभक्त आवासीय माविले गुणस्तरीय शिक्षा दिन सफल भएको भनी खुसी व्यक्त गरे । आफ्ना सन्तानलाई कस्तो बनाउने भन्ने कुरा स्वयं अभिभावक पनि जिम्मेवार रहनुपर्ने उनको भनाइ थियो ।

विद्यालयका प्राचार्य दिनेशकुमार लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदैव अभिभावक र विद्यार्थीको चाहनाअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । किताबी ज्ञानसँगै व्याहारिक शिक्षामा पनि विद्यालयले जोड दिएको बताउँदै उपस्थित सबैप्रति उनले धन्यवाद ज्ञापन गरे । उनले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा कानुनतर्फ गण्डकी प्रदेशमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरी विद्यालयको गरिमा उँचो राख्न सफल तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई बधाई ज्ञापन गरे ।

कार्यक्रमका अध्यक्ष चन्द्रराज श्रेष्ठले विद्यालय पोखराको भविष्यको रुपमा रहेको बताउँदै विद्यालयले किताबी ज्ञानसँगै व्यावहारिक ज्ञानमा पनि जोड दिएको उनले बताए । कार्यक्रममा प्लस टु संयोजक प्रदीप अधिकारीले अचेलका विद्यार्थीले प्रविधिप्रति बढी नै चासो राख्ने गरेको बताउँदै यसको दुरुपयोग उनीहरुले गर्न सक्नेतर्फ सचेत रहन अभिभावकसँग आग्रह गरे ।

अभिभावकको तर्फबाट साहित्यकार राजन बरालले विद्यालय पोखराको कानुन पढाउने उत्कृष्ट विद्यालयको रुपमा रहेको भनाइ राखे । विद्यालय विद्यार्थीको पहिलो रोजाइमा परेको दाबी गर्दै उनले विद्यालयको प्रगतिको कामना गरे ।

गायिका समीक्षा अधिकारी र गजलकार भावना लामिछानेलाई आफ्नो आफ्नो क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा गायिका अधिकारीले गीत पनि प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक भीमनाथ बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सचिव मनकुमार श्रेष्ठ, प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा पोखरा पब्लिकका संस्थापक प्राचार्य कृष्ण केसी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजकुमार सुवेदी, नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक इन्जिनियर कृष्ण पौडेल, लाम्पाटन टोल सुधार समितिका पूर्व अध्यक्ष समाजसेवी क्याप्टेन धरमसिंह गुरुङ, पोखरा १ का वडा सदस्य शोभा गुरुङ लगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन विद्यालय प्रशासक सुमन पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width