स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०८१
samman

स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको सालिक उक्त अवसरमा अनावरण गरिएको छ भने अक्षयकोष स्थापना र पुरस्कार वितरण अनि विविध सम्मान समेत गरिएको छ । २०१० वैशाख ११ मा स्थापित विद्यालय पुतलीबजार १३, चारखुट्टेमा छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समिति सभापति सुधीरकुमार पौडेलले राणाकालको अन्त्यलगत्तै स्थापित विद्यालयको योगदानको कदर गरे । निजी सम्पति लगानी गरेर जनताका छोराछोरी पढाउन संस्थापकहरुले गरेको योगदानकै कारण आज विद्यालयले उचाइ पाएको उनको भनाइ थियो ।

स्थापनादेखि हालसम्म ६१ ब्याच एसएलसी/ एसइई पासआउट भइसकेका छन् । जिल्लाकै पहिलो विद्यालय भएकाले जिल्लाका विभिन्न ठाउँसहित पर्वत, कास्की लगायतका जिल्लाबाट पढ्न आउने गरेका थिए । विद्यालयको शैक्षिक र भौतिक सुधारका लागि आफूले सक्दो मद्दत गर्ने प्रतिबद्धता जनाउँदै पौडेलले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए ।

प्रदेश सभामा निर्वाचित भएपछि आफ्नो क्षेत्रको विकासका लागि निरन्तर लागी परेको भन्दै उनले अर्जुनचौपारी गाउँपालिकको केन्द्रबाट सदमुकाम जोड्ने बाटोको स्तरोन्नतिका लागि प्रदेश र संघमा आफूले गुहारिरहेको जानकारी गराए । स्याङ्जा, लामागे, कुलबाँध, चारखुट्टे हुँदै अर्जुनचौपारीको बाटोको ट्रयाक खुले पनि तटबन्धन र नाला निर्माण भएको छैन भने अधिकांश कच्ची छ ।

संस्थापक अध्यक्षको सालिक अनावरण
विद्यालय परिसरमा बनाइएको संस्थापक अध्यक्ष गेज शर्मा अर्यालको सालिक मंगलबार नै अनावरण गरिएको छ । प्रदेश सभा सदस्य पौडेल र अर्यालका परिवारका सदस्यले उक्त सालिक अनावरण गरे । पुतलीबजार ११ जैसीडाँडाका गेज शर्मा अर्यालसमेतको पहलमा उक्त विद्यालय स्थापना भएको थियो । शोभाकान्त अर्याल, हाकिम नवदत्त सुवेदी, डिट्ठा जंगवीर केसी, चुडामणि कोइरालासमेत स्थानीय अगुवाहरुले बाँस र कटुसका स्याउला जम्मा पारेर पुलको मुखबाट विद्यालय सुरु गरेका थिए ।

विसं १९९२ मा जन्मेका गेज शर्माको निधन २०५२ मा भएको हो । सामाजिक र राजनीतिक गतिविधिमा समेत संलग्न शर्माले सुम्रेखोलाको गाउँफर्क प्रावि, मनकामना प्रावि, मनकामना मावि पेल्काचौर, दरौं माध्यमिक विद्यालयको स्वीकृतका लागि समेत अग्रणि भूमिका निभाएका थिए ।

व्राह्मणले हलो जोत्न हुँदैन भन्ने मान्यतालाई चिर्दै उनले मावली गाउँ समाधिखोलाबाट हलो जोत्ने अभियान थालेका थिए । हली र साहुबीचको असमानताबीच पनि उनले सशक्त आवाज उठाएको उनका छोरा किरणवन्धु अर्यालले बताए ।

विद्यालय परिसरमा केही वर्ष पहिला निर्माण गरिएको संस्थापक प्रधानाध्यापक निलम शाहीको सालिक समेत सोही अवसरमा अनावरण गरिएको छ । कास्कीको भद्रकालीमा पढाउन भारतबाट ल्याइएका शाही पछि स्याङ्जा पुगेका थिए ।

ब्याच ४७ को अक्षयकोष
विसं २०४७ मा उक्त विद्यालयबाट एसएलसी दिएकाहरुको समूहले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषको ब्याजबाट आउने रकमबाट बर्सेनि उत्कृष्ट शिक्षक, विद्यार्थीका साथै अभिभावकसमेतलाई पुरस्कृत गर्ने लक्ष्य राखिएको संयोजक अर्जुबन्धु अर्यालले बताए । उक्त ब्याचमा १ सय २ जनाले एसएलसी दिएकामा ७२ जना उत्तीर्ण भएका थिए । तीमध्ये हाल ४२ जना सम्पर्कमा आएर इच्छाअनुसार सक्दो सहयोग प्राप्त भएको सोही ब्याचका विष्णु काफ्लेले बताए । अरु साथीहरु पनि क्रमश सम्पर्कमा आउने र रकम उठाएर विद्यालयसँग जोडिएर थप काम गरिने सोही ब्याचका पुरुषोत्तम कोइरालाले बताए । अक्षयकोषका लागि सम्झौता गरी मंगलबार नै रकम विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

उक्त ब्याचका तर्फबाट पूर्व शिक्षकहरुलाई सम्मान समित गरिएको छ । नीलकण्ठ लामिछाने, ध्रुवराज अधिकारी, बालचन्द्र थापा, अश्विनकुमार अर्याल र ईश्वरबन्धु कोइरालालाई उक्त अवसरमा सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ख्यामनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ खडानन्द अर्यालले विद्यालयको वार्षिक प्रतिवेदनका साथै आगामी योजना प्रस्तुत गरेका थिए । हाल २ सय ५० को हाराहारीमा विद्यार्थी रहेकामा भर्ना अभियान चलिरहेकाले अरु थपिने विश्वास उनले व्यक्त गरेका छन् । विभिन्न दाता समूहबाट प्राप्त रकमबाट १४ वटा अक्षयकोष सञ्चालनमा रहेका र मंगलबार मात्र ३ वटा अक्षकोषका लागि प्रतिबद्धता आएको उनले बताए ।

शिक्षकद्वय मोति अधिकारी र चन्द्रमणि पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थापक परिवारको तर्फबाट जगतबन्धु अर्याल, शरणवन्धु अर्याल, पुतलीबजार नगरपालिकाकी उपमेयर देवी अर्याल, पूर्व प्रअ नीलकन्ठ लामिछानले शुभकामना व्यक्त गरे । साथै व्यवस्थापन समिति पूर्व अध्यक्ष रामबहादुर थापा, मातृभूमि एलुम्नाइ एसोसिएसन सचिव भरत कोइराला, पूर्व शिक्षक ईश्वरवन्धु कोइराला, व्यवस्थापन समिति सदस्य तारकबहादुर थापा तारकबहादुर थापा, श्रवण मावि व्यवस्थापन समिति अध्यक्ष रवीन केसी लगायतले शुभकामना व्यक्त गरे ।

उक्त अवसरमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थी र कलाकारबाट विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width