माघ २४ र २५ मा ‘पसगाउँ महोत्सव’

आदर्श समाज सम्वाददाता
माघ १३, २०७९
Jp PasGau (2)

पोखरा । लमजुङमा धेरै गुरुङ गाउँ छन्, तीमध्ये पसगाउँ पनि एक हो । तर पसगाउँ अरु गुरुङ गाउँभन्दा भिन्न छ । त्यहाँ संस्कृति बेग्लै र विशिष्ट छन् । गाउँको संस्कृति बुझ्न र त्यो संस्कृतिमा रमाउन चाहनेहरुका लागि पसगाउँ गतिलो गन्तव्य हुनसक्छ, जहाँ पाहुनाका लागि होमस्टे पनि छन् ।
त्यही पसगाउँमा पाहुना डाक्ने उद्देश्यले आउँदो २४ र २५ मा ‘पसगाउँ महोत्सव’ हुने भएको छ । क्होलासोँथार गाउँपालिका वडा नम्बर ६ मा पर्ने पसगाउँमा महोत्सवको १३ औँ संस्करण हुनेभएको हो ।

ग्रामीण पर्यटनको विस्तार गर्ने हेतुले २०६० वैशाख १६ र १७ गते आयोजना भएको पहिलो महोत्सव निरन्तर चल्दै आएको छ । लोकसंस्कृतिको संरक्षण तथा स्थानीय हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षण रहने होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बलराम गुरुङले जानकारी दिए ।

‘यो रुटमा आन्तरिक पर्यटकको आगमन निकै कम छ । घले गाउँबाटै फर्किन्छन्,’ उनले भने, ‘पसगाउँसम्म पर्यटक डाक्न महोत्सव महत्वपूर्ण हुनेछ ।’ महोत्सव १३ औँ संस्करणसम्म आइपुग्दा पनि पर्यटनमा भने भर्खर बामे सर्दै गरेको उनले बताए । महोत्सवमा सहभागी भएर ग्रामीण पर्यटनको स्वाद चाख्न उनले आग्रह गरे ।
संस्कृतविद् एकेन्द्र गुरुङले गुरुङ संस्कृति र ग्रामीण पर्यटनको जान्न÷बुझ्न पस गाउँ पुग्न आग्रह गरे । ‘घाँटु गुरुङ गाउँहरुमा नाचिन्छ, दुरा वा मगर समुदायमा पनि नाचिन्छ तर पसगाउँमा नाचिने सती घाँटु अन्त कमै भेटिन्छ,’ उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले पसगाउँ महोत्सव पसगाउँको संस्कृति बेग्लै रहेको जानकारी दिए । उनले भने, ‘घाँटु सेलाउने क्रममा पसगाउँ जस्तो संस्कृति छ, अन्त छैन र लमजुङको सबैभन्दा पुरानो कृष्ण चरित्र पनि पसगाउँमै छ ।’

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले घलेगाउँ, पसगाउँ जोड्ने बाटो निर्माणको काम जोडतोडले अघि बढिरहेको बताए । पसगाउँलाई ग्रामीण पर्यटनसँग जोडेर आम्दानी बढाउन पालिका कम्मर कसेर लागीरहेको उनले सुनाए । ‘पर्यटक भिœयाएर आम्दानी बढाउने गरी हामी लागीरहेका छौँ,’ उनले भने, ‘५ वर्षभित्रमा तपाईंहरुले थुप्रै राम्रा काम देख्नुहुनेछ । पसगाउँको त्यति प्रचार हुन सकिरहेको छैन । यो महोत्सवले पनि पसगाउँलाई चिनाउँछ ।’

दुई दिन चल्ने पसगाउँ महोत्सवमा स्थानीय हस्तकला, साँस्कृतिक नाचगान साथै अर्गानिक खानाको स्वाद चाख्न पाइने आयोजकले जनाएको छ । लमजुङ हिमाल, अन्नपूर्ण लगायत हिमालय पर्वत शृंखलाका अनुपम दृश्य देख्न पाइने महोत्सव कोम्रेडाँडालाई पिकनिक स्पटको रुपमा विकास गरिएको छ । खानेपानी, बिजुली बत्ती र सडक सञ्जालले पनि जोडेको कोम्रेडाँडालाई स्थानीयको सक्रियतामा सम्पन्न भइसकेको छ ।

कोम्रे डाँडालाई आवश्यकता अनुसार संरचना विस्तार गर्दै लगिने महोत्सव आयोजकहरुले बताएका छन् । पसगाउँ तमु समाज पोखराका अध्यक्ष रामबहादुर गुरुङ पर्यटक पसगाउँको कोम्रेडाँडाबाट लमजुङ र कास्कीसम्मका हिमालहरु र पोखरा पनि देखिने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width