नागरिक समाजद्वारा महानगरलाई १५ बुँदे ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
पौष २६, २०७९
Nagarik Samaj

पोखरा । नागरिक सरोकारका विविध विषय सम्बोधन गर्न माग गर्दै नागरिक समाज कास्कीले सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

नागरिक समाजले मिर्गौलापीडित, दीर्घरोगीका लागि सहजरुपमा पहुँच हुने गरी निशुल्क डायलसिस सेवाको व्यवस्था गर्नुपर्ने माग प्राथमिकताका साथ उठाएको छ ।

यस्तै, राजपत्रमा उल्लेख भएबमोजिम फेवातालको चारकिल्ला निर्धारण हुने गरी सीमा स्तम्भ स्थापित गर्न र तालमा समाहित हुने फिर्के, बुलौंदी खोलाको साँधसिमा मेटिने गरी व्यापकरुपमा भइरहेको अतिक्रमण रोक्न २०३२ सालमा भएको नापी बमोजिम उच्चस्तरीय छानविन समिति गठन गर्न पनि माग गरिएको छ ।

यसैगरी, पोखरा–१६ लाई ऐतिहासिक चौतारीको वडा घोषणा गर्न र आवश्यक रकम विनियोजन गर्न महानगरसँग आग्रह गरिएको वातावरण संरक्षणका लागि महाअभियान कास्की संयोजक रामबहादुर पौडेलले जानकारी दिए । पुरानो पोखरा विमानस्थललाई व्यापारिक प्रयोजनका लागि प्रयोग नगरी ‘बोटानिकल पार्क’ बनाउँदै ‘एरोनटिक्स’ प्रशिक्षण केन्द्रका रुपमा विकास गर्न माग गरिएको पनि संयोजक पौडेलले उल्लेख गरे ।

मिर्गौलापीडित, दीर्घरोगीका लागि सहजरुपमा पहुँच हुने गरी निशुल्क डायलसिस सेवाको व्यवस्थाका माग

फेवातालदेखि सुरु गर्ने गरी फिर्केखोला किनारमा पदमार्ग र ग्रिनबेल्ट तथा साइकल लेन विकास गर्न पनि नागरिक समाजले माग गरेको छ । सहरभित्रका जोखिमयुक्त रुखका हाँगाबिँगा छाँटकाटका लागि आधुनिक बकेटयुक्त क्रेन व्यवस्था गर्न र सेती नदीको रामघाटमा ब्यारोमिटरसहितको पक्की चेकड्याम निर्माण गर्ने माग पनि समेटिएको छ ।

फिर्केखोला, फेवाताल, सेती नदीलगायत पानीका श्रोतमा बिर्सजन हुँदै आएको मानव मलमूत्रलगायत अन्य प्रदूषणयुक्त फोहोरमैला बिसर्जनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरिएको नागरिक समाज कास्कीका कावा संयोजक नरेन्द्रमान लालचनले जानकारी दिए ।

यसअघि पोखरा महानगरले घोषणा गरेको ‘नो हर्न जोन’ अवधारणालाई र प्लास्टिक निषेधित क्षेत्र जस्ता महत्वपूर्ण विषयलाई कार्यान्वयनमा ल्याउन पनि मागको बुँदामा समेटिएको उनले सुनाए ।

पृथ्वीचोक नजिकै निर्माण गर्ने भनिएको प्रस्तावित सिटी बसपार्कलाई अत्याधुनिक, व्यवस्थित र स्तरीय डिजाइनमा जतिसक्दो चाँडै निर्माण गर्ने गरी प्राथमकितामा राख्न पनि महानगरलाई बुझाइएको ज्ञापनपत्रमा माग गरिएको छ । सार्वजनिक यातायात प्रणालीमा आमूल परिवर्तन गर्न र यहाँको सडक सुरक्षा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थि तगर्न ट्राफिक लाइट तथा सिसी टिभी क्यामेरा जडान गर्न पनि माग गरिएको छ । पोखराको सहरी ढल प्रणालीलाई स्तरोन्नति एवं प्रशोधन गरेरमात्र नदी, खोला र तालमा समाहित गर्न पनि नागरिक समाजले माग गरेको छ ।

ज्ञापनपत्र बुझेपछि मेयर आचार्यले नागरिक समाजका माग जायज रहेको र यसप्रति आफू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । माग सक्दो सम्बोधन गर्न आफूले पहल थाल्ने प्रतिबद्धता पनि उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width