बास नेपालको केन्द्रीय कार्यालय भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७९
namaskar 2

नेपालगन्ज । बास नेपाल केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा १८, भुजईगाँउमा स्थानीय जग्गादाता माधवराम बर्माले संस्थालाई जग्गा दान गरेपछि उक्त स्थानमा बासले केन्द्रीय कार्यालय भवन निर्माण गर्न लागेको हो ।

घटस्थापनाको शुभ साइतमा नेपालगन्जका नगर प्रमुख प्रशान्त बिष्ट, पूर्व नगर प्रमुख डा. धवल शमशेर राणा, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी र बास केन्द्रीय कार्यालय भवन निर्माण समिति संयोजक तथा बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट प्रमुख अतिथि थिए । उनले एक असल संस्थाले कार्यालय भवन निर्माण गर्न लागेको भन्दै शुभकामना व्यक्त गरे । सिंगो देशका लागि भ्रष्टाचार ठूलो चुनौतीको रुपमा अगाडि बढिरहेको अवस्थामा भ्रष्टाचार विरोधी आवाज थप बुलन्द पार्न जरुरी रहेको बताए । भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने अभियान थाल्नुपर्ने उनको भनाइ थियो ।

नेपालगन्ज उमपहानगरपालिकाका पूर्व नगर प्रमुख डा. धवल शमशेर राणाले लामो समय देखि सुशासनका पक्षमा काम गर्ने संस्थाले आफ्नै भवन बनाउन लागेकोमा खुसी लागेको बताए । बासको अभियान युवाहरुका लागि उपलब्धिपूर्ण रहेको भन्दै भ्रष्टाचार गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गर्न सबैलाई अपील गरे ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय उपाध्यक्ष निरज गौतम, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, बिग्रुपका अध्यक्ष टेकबहादुर पुन लगायतले बोलेका थिए ।

बासका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले सञ्चालन गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । उनले सानो समूहबाट सुरु भएको संस्था यहाँसम्म आपुग्दासम्म थुप्रै चुनौतीको सामना गरेको स्मरण गर्दै कार्यालय भवनको शिलान्यासबाट संस्थागत सुदृढीकरणको सपना पूरा हुने विश्वास व्यक्त गरे । बासका निवर्तमान अध्यक्ष रमेश सिटौलाले धन्यवाद ज्ञापन र बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले समापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width