कमल नेपालीको त्यो कमाल

विजय नेपाल
असाेज ३, २०७९
kamal nepali 3

पोखरा । डेढ दशकअघि ६० फिट गहिरो सेती खोंचमा खसेकी आराधना प्रधानको उद्धार कठिनाइ बन्दै जाँदा त्यत्तिकैमा एक बालक ‘म निकाल्छु बहिनीलाई’ भन्दै फूर्तिसाथ अघि सरे ।

उनको कुरा सुनेर सेती खोंचमा उद्धारमा जुटेका सयौं मानिस छक्क परे । सबैले मुखामुख गरे । साढे २ वर्षीया बालिका आराधनाको उद्धारमा प्रहरीमात्र नभई काठमाडौेंदेखि आएको क्यानोनिङका प्राविधिकको टोलीले समेत हार मानेर फर्किने तयारी गर्दै थियो ।

बालकको साहस देखेर अनकन्टार खोंचभित्र ती बालकलाई आराधनाको उद्धारमा पठाउने सुरसार गरियो । र, क्यानोनिङका प्राविधिकको सहयोगमा उनी डोरी बेल्ट बाँधेर गहिरो खोंच छिरे ।

२३ घण्टासम्म खोंचमा अड्किएकी आराधनाको २०६५ असार ११ गते सकुशल उद्धारपछि एकाएक चर्चामा आएका बालक थिए, १२ वर्षीय कमल नेपाली । अहिले कमल २६ वर्षका लक्का जवान भए । तर बाबुआमा गुमाएका कमलले यतिखेर आर्थिक संकट झेलिरहेका छन् ।

त्यसैले साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठान, पोखराले सहयोगार्थ बृहत् फोटो प्रदर्शनी गर्दैछ ।

पोखराको नयाँगाउँमा २०५३ कात्तिक १५ मा कमलको जन्म भएको हो । बाबु नीलबहादुर र आमा मनकुमारी नेपालीका सुपुत्र हुन् । बाबु नीलबहादुरका २ श्रीमतीमध्ये दुर्वतर्फ गरी कमलका ३ दाइ र २ दिदी छन् । तर दैवको लीला कमलले सानैमा बाबुआमा गुमाए । सडक छेउमा जुत्ता सिलाउँदै गुजारा गर्ने बाबुले धर्ती छाडेको केही वर्षपछि हालैमात्र आमाको निधन भयो । अनि कमल टुहुरा भए ।


कमलको त्यसबेलाको साहसिक कार्यको कदर गर्दै धेरै संघसंस्थाले आर्थिक उन्नति तथा शिक्षादीक्षामा चासो देखिए । नेपाल सरकारबाट ३ लाख राशिको वीरगणेशमान बालप्रतिभा पदकबाट विभूषित बने विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट नगद पुरस्कारसहित सम्मानित भए ।

आर्थिक स्थिति कमजोर हुँदा १२ वर्षको उमेरसम्म कक्षा १ नटेकेका कमलले त्यसपछि शिक्षाको उज्यालोबाट वञ्चित हुनुपरेन । उनलाई काठमाडौंको जेभिएर इन्टरनेशनल कलेजले पढाइदिने भयो । जिम्न्यास्टिक, पौडी र चित्रकलामा रुची राख्ने कमललाई उतिसारो पढाइमा मन गएन । अनि एसइईपछि उच्च शिक्षाका लागि कलेज चहारेनन् ।

१५ वर्षअघि सेती खोंचबाट आराधनाको सकुशल उद्धार गरी चर्चामा आएका उनै कमल अहिले आर्थिक संकट झेलिरहेका छन्

आर्थिक अवस्था कमजोर छँदै थियो । उनी पोखरा फर्के । केही समय कफी बनाउने तालिम सिके । त्यो छोडे । पोखरामा उनी हाल प्रतिष्ठान उपाध्यक्ष रामबहादुर बल्कोटीमा घरमा बसेर चित्रकला सिकिरहेका छन् । उनका गुरु हुन्, बुटवलका अजय नेपाली । अजयले ३ महिनायता निरन्तर कमललाई चित्रकला सिकाइरहेका छन् । त्यसको चाँजोपाँजो प्रतिष्ठानले गरिरहेको छ ।

चित्रकला सिकाइसँगै प्रतिष्ठानले कमलको आर्थिक सहयोगार्थ संविधान दिवस अवसरमा बृहत् फोटो प्रदर्शनीको तयारी गरेको प्रतिष्ठान अध्यक्ष डिबि नेपाली (दिलबहादुर) ले जानकारी दिए । नेपाल पर्यटन बोर्डको सभाहलमा असोज ३ गते हुने प्रदर्शनीमा कलाकार अजय नेपालीका ४० कलाकृति देख्न सकिने छ । प्रदर्शनीमा कास्कीमा जन्मिएका वा पोखरालाई कर्मक्षेत्र बनाएका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुराएका व्यक्तिको तस्बिर (आर्ट पेन्सिल) राखिने प्रतिष्ठान अध्यक्ष नेपालीले बताए ।

कमलले मानवीय क्षेत्रमा रचेको एउटा अद्वितीय इतिहास जगेर्ना गर्दै नेपाली समाजमा त्यस्ता प्रकृतिका तथा समाजको समग्र हितमा काम गर्ने विभिन्न विधाका ख्यातिप्राप्त व्यक्तिलाई चित्रकला समेट्न खोजिएको उनले बताए । यसबाट कमलको आर्थिक स्थिति मजबुत बनाउन टेवा मिल्ने उनको विश्वास छ । प्रदर्शनीमा कमला नेपाली र आराधना प्रधान दुवैलाई देख्न पाइनेछ ।

प्रतिष्ठानले आगामी दिनमा ख्यातिप्राप्त व्यक्तिहरुको फोटो प्रदर्शनी गर्दै जाने, आर्ट ग्यालरी संचालन गर्न पहल गर्ने, पोखराको पर्यटन, कला, संस्कृति प्रवद्र्धनमा सरोकारवालासँग हातेमालो गर्दै जाने, आराधना प्रधान खसेको ठाउँ संरक्षण गरी पर्यटकीय अध्ययन स्थलको रुपमा विकास गर्ने, प्रतिष्ठानको कार्यालय स्थापना गर्ने लगायत लक्ष्य राखेको संविधानसभा सदस्य समेत रहेका प्रतिष्ठान अध्यक्ष डिबि नेपाली बताउँछन् । उनका अनुसार प्रतिष्ठानले यसअघि साहसी बालक कमल नेपाली र रुकुम जातीय नरसंहार ः संरचनात्मक असंवेदशीलता पुस्तक प्रकाशन गरेको छ । चित्रकलामा रुची राख्ने कमलले तयार पारेका तस्बिर पनि भविष्यमा कुनै दिन प्रदर्शनी गरिने प्रतिष्ठान कोषाध्यक्ष उमेश सिकेले जानकारी दिए ।

पोखरा बिरौटा बस्दै आएका जोन प्रधान दम्पत्ती आफन्तको अन्त्येष्टीका लागि आराधनालाई लिएर त्यसबेला सेती किनार नयाँगाउँ पुगेका थिए । अबोध आराधना खरबारी रहेको उक्त खोंचमा खस्न पुगेकी थिइन् । छोरीको जीवन बचाइदिएपछि उनको र कमलको परिवारमा घनिष्ठ सम्बन्ध विकास भएको छ । आराधनालाई कमलले धर्मबहिनी बोलाउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width