चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७९
chandrawati

पोखरा । साहित्यकार एवं गायिका चन्द्रावती वाग्लेको तीजगीतको म्युजिक भिडियो ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक गरिएको छ ।

पोखरामा आयोजित समारोहमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले म्यूजिक भिडियो सार्वजनिक गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । पुरुषले तीजेगीत गाउनु अशोभनीय हुने भन्दै उनले महँगो होटल र पाटी प्यालेसमा टिकटमा दर खानु विकृति हो भने । राष्ट्र चिनाउन कला र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउँदै कुलपति बिखर्चीले राज्यले कलाकारको योगदानको उचित कदर गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले मिडियाले मौलिक गीत प्राथमिकतामा राखेर प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिइन् । उनले कलाकारलाई राज्यले उचित ढंगले सम्बोधन गर्नुपर्ने बताइन् ।

तीज गीत समीक्षा गर्दै महाकाव्यकार वसन्त चालिसेले वाग्लेका गीतमा समाजको यथार्थता झल्किएको बताए । बढ्दो बसाइँसराइ कारण गाउँपाखा उजाड भएको कुरा गीतमार्फत उजागर गर्न खोजिएको उनको भनाइ थियो । गायिका चन्द्रावती वाग्लेले समाजमा घट्ने घटनाक्रम गीतमार्फत उजागर गर्नु एउटा सचेत नागरिकको दायित्व सम्झिदै बर्सेनि तीजका एल्बम ल्याउने गरेको बताइन् ।

शिवराज भूर्तेलको निर्देशन रहेको भिडियोमा तीर्थराज बस्नेत, विष्णुमाया भूर्तेल, सपना तिवारी, सुनिता नेपालीलगायतले अभिनय गरेका छन् । गीत नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोको युटव च्यानलमार्फत सार्वजनिक भएको हो । नारी प्रतिभा वाङ्मय प्रतिष्ठानको तेस्रो स्थापना दिवस अवसरमा आयोजित समारोहको अध्यक्षता प्रतिष्ठान अध्यक्ष छन्दिका त्रिपाठीले गरेकी थिइन् । कार्यक्रम संचालन सचिव लक्ष्मी थापाले गरेकी हुन् ।

स्रष्टा वाग्लेको यसअघि आइन छोरी भनेर, नरोए आमा २०७५, जागिरे नारीको पीडा भाग–१, गरिन गुनासो, जागिरे नारी भाग–२, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ संगी रमाइलो गरौं बरिलै, रमाइलो माइतैमा र जड्याँह पोइ बजारमा आइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width