खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७९
pokhara 5 progrem photo

पोखरा, २२ साउन । पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्द पराजुलीले वर्षातको समयमा खुडेपोखरी आसपास क्षेत्रमा हुने गरेको डुवान नियन्त्रण गरिने बताएका छन् ।

पोखरा ५ धारापानी मार्गस्थित नमुना मिलन टोल विकास संस्थाको शनिबार दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पराजुलीले त्यस्तो बताएका हुन् ।

उनले त्यसका लागि पोखरा १८ सँग पनि सहकार्य गरिने स्पष्ट पारे । वडा खुडेपोखरीको संरक्षण गर्दै सो क्षेत्रको पानी सहजरुपमा बुलौदीसम्म पुर्‍याउने गरी गुरुयोजना निर्माण गर्ने अन्तिम तयारी रहेको जानकारी दिंदै पराजुलीले केही वर्षमै पूर्णरुपमा डुवान नियन्त्रण गरिने प्रतिबद्धता जनाए ।

पराजुलीले उज्यालो वडाको अभियानअन्तर्गत आवश्यक ठाउँमा सडक बत्ती र सिसी क्यामेरा जडान कार्य वडाले अगाडि सार्न लागेको भन्दै त्यसमा सघाउन स्थानीयसँग आग्रह गरे । कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले टोल विकास गर्ने उद्देश्यका साथ संस्था स्थापना भएकोमा खुशी व्यक्त गर्दै भौतिक विकाससँगै अव मानवीय विकासलाई पनि ध्यान दिइने बताइन् ।

संस्थाका अध्यक्ष सुरज पौडेलले टोल विकासमा लागि व्यक्तिगत स्वार्थ त्यागी सामूहिक भलाइमा जोड दिनुपर्ने बताए । कार्यक्रममा जनहित महिला समूहकी निवर्तमान अध्यक्ष आशमाया विक, समाजसेवी वसन्तराज अधिकारी, धारापानी टोल विकास संस्थाका अध्यक्ष धनञ्जय पौडेल लगायतले टोलमा बढ्दो आत्महत्या कम गर्न सबै सचेत हुनुपर्ने औँल्याए ।

अधिवेशनले भुवानीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । समिति उपाध्यक्षमा शान्ति भण्डारी र एकनारायण गिरी, सचिवमा राधाकृष्ण रिजाल, सहसचिवमा नवीन दाहाल, कोषाध्यक्षमा दिनेश शर्मा छन् । सदस्यमा शारादा मल्ल, धर्मदत्त दाहाल, कृष्णप्रसाद भण्डारी, विष्णुमाया पराजुली, गंगाबहादुर नेपाली, हरमाया भट्टराई र शुकराम विक छन् ।त्यस्तै कपिलमणि दाहाल, सुरज पौडेल, केशव भण्डारी, टंकप्रसाद पराजुली, हरिमाया विश्वकर्मा र सन्तोषी ढकाललाई सल्लाहकारको जिम्मेवारी दिइयो ।

सुरज पौडेलले अध्यक्षको, राधाकृष्ण रिजालले सचिवको तथा एकनारायण भण्डारी (केशव) ले कोषाध्यक्षको प्रतिवेदन पेश गरेकोमा छलफलसहित सर्वसम्मत् पारित भएको थियो । संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रिजालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width