व्यावसायिक खेतीतर्फ हेमजाका किसान

आदर्श समाज सम्वाददाता
असार २९, २०७९
kisan hemja

हेमजा । हेमजाकी राधिका कुँवरले यस वर्ष धनियाँ खेतीबाट राम्रै आम्दानी गरिन् ।

उनले वैशाख यता करिब १२ हजारको धनियाँ बेचिन् । यतिबेला उनले धनियाँसँगै टमाटर खेती पनि गरेकी छन् । यसपटक कृषिबाट राम्रै कमाइ भएपछि उनी हौसिएर यो कर्ममा लागिरहेकी छन् ।

कुँवरजस्तै हेमजाका किसान कृषि पकेट कार्यक्रमसँगै व्यवसाय उन्मुख बन्दै गएका छन् । उनीहरुलाई पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइले सहयोग गरेको छ । जसको सहजीकरण स्थानीय रुपमा तीब्रेकोट बहुउद्देश्यीय कृषि वन तथा जडिबुटी सहकारी संस्थाले गरेको छ ।

महानगर, परियोजना र तीब्रेकोट कृषि पकेट कार्यक्रमबीच सम्झौता नै गरी कृषि कार्यक्रम लागु गरिएको छ । जसअनुसार कृषकले परम्परागत कृषि प्रणालीको विकल्पमा व्यावसायिक तथा रोजगारमूलक व्यवसाय सञ्चालन गर्ने प्रयास गरिरहेका छन् ।

त्यहाँ कृषकलाई बाँसको अस्थायी प्लास्टिक घर, बिउ बिजन तथा बिरुवा उत्पादन, सिँचाइ तथा पाइप, स्प्रु, डिजिटल तराजु, जैविक एवं प्रांगारिक मल, व्यावसायिक कृषि तालिम, मिनी टिलर, हजारी थोपा सिचाइँलगायत सामग्री तथा सीप पनि प्रदान गरिएको छ ।

जसमार्फत तीब्रेकोट जडिबुटी सहकारी संस्थामा आबद्घता कुल ४ सय ८० किसान लाभान्वित भएका छन् । कार्यक्रमसँगै उनीहरुले करिब ४ सय रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती पनि गरेका छन् ।

किसानले त्यहाँ टनेल खेती अन्तर्गत धनियाँ, काँक्रो, टमाटर, साग, क्याप्सिकम, अकबरे खुर्सानी लगायत बालीहरु लगाएका छन् ।

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले हेमजामा तरकारी खेतीमार्फत् रोजगारी सिर्जना गर्ने र कृषकको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएका जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width