त्रिविको प्रश्नपत्रमा चरम लापरबाही, विद्यार्थी विरोधमा

आदर्श समाज सम्वाददाता
असार २७, २०७९
TU BBA Photo

पोखरा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एकपछि अर्को परीक्षामा लापरबाही गरेको भन्दै विद्यार्थीले विरोध गरेका छन् ।

त्रिविअन्तर्गत बिबिए छैटौं समेस्टरको परीक्षाको प्रश्नपत्रमा त्रुटि गरेको भन्दै आइतबार गण्डकी प्रदेशको संसद भवन गेट अगाडि पोखराको पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसमा बिबिए छैटौं सेमेस्टरमा पढ्ने विद्यार्थीहरुले विरोध गरेका हुन् । निजी क्षेत्रका कलेजको परीक्षाको प्रश्नपत्रसँग प्रश्नपत्र बनाउने, गत वर्षकै प्रश्नपत्र यसपालि पनि हुबहु दोहोर्‍याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्‍याउने काम त्रिविबाट भइरहेकै विद्यार्थीको आरोप छ । त्रिविअन्तर्गत बिबिए पढाइ हुने ४० वटा आंगिक क्याम्पसका विद्यार्थीले यसको विरोध गरिरहेका छन् । आफूहरुले पाएको मानसिक दबाबविरुद्ध देशभर गरिएको विरोध कार्यक्रममा आफूहरुको पनि ऐक्यबद्धता रहेको उनीहरुको भनाइ छ ।

त्रिविले असार २२ मा व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको अर्गनाइजेसन बिहेभिअरको प्रश्नपत्र मोर्डन नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै परीक्षा रद्द गरेको जनप्रिय क्याम्पसका विधान अधिकारीले जानकारी दिए । पछि २५ गतेको नेप्लिज सोसाइटी एन्ड पोलिटिक्सको परीक्षामा सोसिओलोजीको प्रश्नपत्र दिएको उनी सुनाउँछन् । ‘सुरुमा हाम्रो अर्गनाइजेसन बिहेभिअरको परीक्षा थियो, त्यसको परीक्षा दिएर आएपछि अर्को दिन परीक्षा रद्द भयो भनेर असार १ गतेका लागि अर्को मिति आयो, भएको के रहेछ भने त्यो प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डको प्रश्नपत्रसँग मिलेछ,’ उनले भने, ‘त्यसपछि २५ गते पोलिटिक्सको परीक्षा थियो त्यो बेला सोसियोलोजीको प्रश्न आयो, एक घन्टा पछि सरहरुले अर्को प्रश्नपत्र लिएर आउनुभयो, त्यो पनि शंकरदेव क्याम्पसको प्रिबोर्ड परीक्षाको प्रश्नसँग मिल्न गयो यसरी बारम्बर गल्ती दोहोरियो ।’

प्रश्नपत्र हुबहु दोहोर्‍याउने र फरक विषयका प्रश्नपत्र वितरण गरी विद्यार्थीको भविष्यमा गम्भीर आघात पुर्‍याएको विद्यार्थीको आरोप छ

लापरबाहीका विषयमा छानबिन गर्न र पहिलो दिनबाहेक अरु दिनको परीक्षाको नयाँ तालिका सार्वजनिक गर्नुपर्ने आफूहरुको माग रहेको विद्यार्थी अधिकारीले बताए । ‘हाम्रो माग भनेको अर्गनाइजेसन बिहेभिअरको पुनः परीक्षा दिने भनिएको त्यो क्यान्सिल हुनुपर्‍यो, हाम्रो मेहनत खेर गएको छ,’ उनले भने, ‘लापरबाही गर्नेलाई छानबिन गरेर कारबाही होस्, रद्द गर्ने पनि विशेष कारण भनिएको छ । त्यो विषेश कारण पनि खुलाउनुप¥यो । अर्गनाइजेसन बिहेभिअरबाहेकको ४ वटा विषयको पुनः तालिका निकालेर परीक्षा हुनुपर्‍यो भन्ने हाम्रो माग छ ।’

त्रिविको यस्तो गैरजिम्मेवार, शंकास्पद तथा लापरबाहीपूर्ण कदमप्रति आफूहरु विरोधमा उत्रन बाध्य भएको पृथ्वीनारायण क्याम्पसको बिबिए छैटौं सेमेस्टरमा अध्ययनरत प्रदीप पौडेलले बताए । यसअघि त्रिविले गत जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयका प्रश्नपत्रहरू गत वर्षकै हुबहु दोहो¥याएको थियो । पटक पटक दोहोरिने गल्तीलाई ढाकछोप गर्दै पुनः उस्तै गल्ती गर्नु विद्यार्थीको जीवनमाथिको खेलबाड भएको उनको भनाइ थियो । यो भन्दा अघि भएको यस्ता खालको घटनामा छानबिन समितिद्वारा तयार पारिएको प्रतिवेदन आजसम्म सार्वजनिक नगर्नु, दोषीलाई उम्काउन खोज्नु, पटकपटक परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रहार गरिरहनु जस्ता घटनाले विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार निकाय गैह्र जिम्मेवार हुँदै गएको उनको आरोप थियो । प्रश्नपत्र निर्माण तथा नियमन गर्ने निकायका जिम्मेवार व्यक्तिहरू तथा सम्पूर्ण विचौलियाहरूलाई कारबाहीको दायरामा नल्याएको खण्डमा जस्तोसुकै आन्दोलन गर्न पछाडि नहट्ने उनको भनाइ थियो । ‘अहिले हामीले शान्तिपूर्ण विरोध गरिरहेका छौं,’ उनले भने, ‘हाम्रा माग पूरा नभए जुनसुकै स्थानमा जस्तो पनि आन्दोलन गर्न तयार छौं ।’

पोखरामा त्रिविअन्तर्गत पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसमा बिबिए पढाइ हुन्छ । जसमा पृथ्वीनारायण क्याम्पसको ९९ जनाको कोटामा ९० र जनप्रियको ६४ जना कोटामा ६० जना भर्ना भएकोमा ५८ जनाले अहिले छैटौं सेमेस्टरको परीक्षा दिइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width