विश्व शान्तिका लागि महापूजा

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
Puja Photo 1 (1)

पोखरा । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको आयोजनामा पोखरामा प्रथम विश्व शान्ति कांग्युर (त्रिपिटक) वाचन महापूजा हुने भएको छ । समाजले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी महापूजाको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।
चैत १३ देखि १८ सम्म तमु धिं नेपालमा हुने महापूजाको तयारी अन्तिम चरणमा पुगेको गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका संस्थापक एवं केन्द्रीय अध्यक्ष धर्म गुरु खेम्पो शिर लामा तमुले जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण मृत्युवरण गर्नेहरुको आत्मा शान्तिका लागि नेपालमै पहिलो पटक कांग्युर वाचन महापूजा आयोजना गर्न लागेको बताए । उनका अनुसार १ सय ३ ठेलीको ग्रन्थ ६ दिनमा सकिने लक्ष्य राखिएको छ ।
उनले हरेक दिन धर्म देशना, ग्रहशान्ति, र पितृपूजा हुने बताउँदै बौद्धमार्गी मात्रै नभइ अन्य धर्मावलम्वीहरु समेत पूजामा भाग लिन सक्ने बताए । ‘हामै देशमा जन्मेका बुद्ध दर्शनको महत्व देशमा भन्दा अन्य मुलुकमा छ, उनले भने, ‘त्यसैले बुद्ध दर्शनबारे जानकारी दिने हाम्रो कार्यक्रमको उद्देश्य छ ।’ उनले बुद्ध दर्शनको कमी कै कारण मुलुकमा हत्या तथा हिंसा भैरहेको धारणा राखे ।
आइतबार बिहान ८ बजे सुरु हुने सो महापूजा उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्ने छन् । ६ दिन सञ्चालन हुने सो पूजामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । खर्चको स्रोत भक्तजनले दिने दान रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार घाटा भएमा समाजले ब्यहोर्ने र नाफा भएमा नाफा रकम त्रिपिटक वाचकको गुठी बनाएर विकट ठाउँहरुमा खर्च गर्नेछ । गण्डकी प्रदेशबाट सुरु भएको महापुजा निकट भविष्यमै अन्य प्रदेशमा गर्दै जाने धर्म गुरु खेम्पो शिर लामाले जानकारी दिए । महापूजामा नेपालका विभिन्न स्थानमा रहेका बौद्ध धर्मगुरुको उपस्थिति रहने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width