आधुनिक कृषि थोक बजार निर्माणले गति लियो

रासस
फागुन ९, २०७८

बागमती । वाग्मती प्रदेशको राजधानी हेटौँडाको अस्तव्यस्त कृषि बजारलाई व्यवस्थित बनाउन तथा किसानलाई प्रत्यक्ष लाभ उपलब्ध गराउन कृषि थोक बजार निर्माणले गति लिएको छ । सरकारले कृषि उपजको उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधासहित निर्माण गरिरहेको कृषि थोक बजारको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली किसानको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको कृषिउपजको बजारीकरणको समस्या समाधान गर्न भन्दै तिनै तहको सरकारको पहलमा कृषि थोक बजार केन्द्र निर्माण प्रारम्भ भएको थियो । केन्द्र सरकारको समेत लगानी हुने र करिब रु ७० करोड लगानी गर्ने भनेर विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको भए पनि तत्काललाई केन्द्र सरकारले लगानी नगरेपछि लगानी घटाएर प्रदेश र स्थानीय सरकारले निर्माणलाई निरन्तरता दिएका छन् ।

हेटौँडा उपमहानगरपालिकाको समेत सहलगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार केन्द्र निर्माण कार्यले पछिल्लो समयमा गति लिएको प्रदेशको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । झण्डै रु साढे २८ करोड लागतमा निर्माणाधीन कृषि थोक बजार आगामी २०८१ सालभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने मन्त्रालयले विश्वास लिएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडा र उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । विसं २०८१ सम्ममा भवनलगायतका संरचना निर्माण सम्पन्न गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।

आधुनिक संरचनासहितको कृषि बजार निर्माण सुरु भएपछि मकवानपुर तथा आसपासका किसान लाभान्वित हुने अपेक्षासहित खुसी भएका छन् । कृषि थोक बजार निर्माणको काम सम्पन्न गराउन उपमहानगर पनि लागिपरेको छ । उपमहानगरले तरकारी बजार निर्माणको काम चाँडो सम्पन्न गर्न आफ्नातर्फबाट पहल गरिरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो ।

प्रदेश सरकारसँग सहकार्य गरेर भवन निर्माणको काम भइरहेको र यो उपमहानगरका लागि गौरवको योजना रहेको प्रमुख महतले बताउनुभयो । स्थायीरुपमा तरकारी तथा फलफूलका लागि थोक बजार निर्माण नहुँदा निकै समस्या व्यहोर्नु परेको उपमहानगरपालिकालाई अब भने निकै सहज हुने उहाँको भनाइ थियो ।

कूल रु २८ करोड ३६ लाख ५५ हजार लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डे बताउनुहुन्छ । कृषि थोक बजारको काम समयमा नै सक्नेमा आफू विस्वस्त रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको ठूलो लक्ष्य र योजनासहित कृषि थोक बजारको निर्माण भइरहेकोे उहाँको भनाइ छ । राजमार्गसँगै जोडिएको यस बजारका कारण देशभरिबाट तरकारी तथा फलफूल ल्याउन र अन्यत्र लैजानका लागि सहज हुने उहाँले बताउनुभयो ।

चालिस कट्ठा चार धुर जग्गामा निर्माण गर्न लागिएको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । “यहाँ प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र विदेशमा समेत पठाउन सकिने व्यवस्था गरिने तयारी छ । शीत भण्डारसहित कृषि सुपरमार्केट निर्माण हुँदा किसानसहित सबैलाई फाइदा हुने प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक रवीन्द्रबहादुर प्रधान बताउनुहुन्छ ।

कृषि थोक बजार सञ्चालन भएपछि कृषि बजारमा उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतको सुविधाको अपर्याप्तता र अभावको अन्त्य हुने प्रधानले बताउनुभयो । निर्माण भएपछि उपमहानगरपालिकालाई हस्तान्तरण गरिने थोक बजारबाट कृषकले उचित मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय कृषिउपज पाउने पनि दाबी गरिएको छ । बजार आधुनिक तथा हरेक सुविधा सम्पन्न हुने र किसान मैत्री हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width