चितवनबाटै लागुऔषध निस्तेज पार्ने महाअभियान सुरु, ७ वटै पालिकामा फरक रणनीति

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
chitwan newsff

भरतपुर । लागुऔषधको ट्रान्जिट प्वाइको रुपमा रहेको चितवनलाई निस्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा सबैभन्दा धेरै लागुऔषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरू समावेश भएको तथ्यांक वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने महाअभियान सुरु भएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ३ महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गरेकी हुन् । महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागुऔषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताइन् ।

उनले सडक मानवमुक्त पहिलो महानगरजस्तै लागुऔषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिइन् । अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालले प्रतिबद्धता व्यक्त गरिन् ।

विकृति विसंगतिरहित समाजको निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषधमुक्त समाजको निर्माण गर्नका लागि अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताए । जिल्लाका ७ वटै स्थानीय सरकारले ३ महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।

पछिल्ला वर्षहरूमा लागुऔषध ओसारपसार, कारोबार एवं सेवनका घटन बढ्दै गएपछि जिल्लामा नै पहिलो पटक ७ वटै पालिकालाई लक्षित गरी लागुऔषधविरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।

‘चितवन अदृश्य तबरले लागुऔषधको ट्रान्जिट पोइन्ट देखियो,’ प्रजिअ थापाले भने, ‘चितवनकै ७ वटै स्थानीय तहको टोलटोल, वडावडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप सचेतनामूलक कार्यक्रम हुनेछ ।’

महाअभियानअन्तर्गत लागुऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरू धमाधम पक्राउ गर्ने उनले बताए । लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि चितवन प्रशासन आफैं एक्सनमा उत्रिन लागेको यो पहिलो कार्यक्रम हो ।

कार्यक्रममा सिडियो थापाले लागुऔषधको कारोबारीलाई शून्य सहनशीलताको नीति अपनाई कारबाही गर्ने र लागुऔषधको सेवनकर्तालाई परिवारमा पुनस्र्थापना गर्न समेत यो अभियानले ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे ।

भावी दिनमा लागुऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै महाअभियान सुरु गर्न लागेका हौं,’ प्रजिअ थापाले भने, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै सरोकारवालको प्रभावकारी समन्वयबाट मात्र नियन्त्रण गर्न सम्भव विषय भएकाले हामीले महाअभियान सुरु गरेका हौं ।’ कार्यक्रममा स्वागत गर्दै सहायक प्रजिअ चिरञ्जीवी शर्माले अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन चितवन प्रहरी प्रमुख (एसपी) भावेश रिमालले अपिल गरे ।

‘लागुऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी पनि नयाँ ढंगले परिचालन हुन्छ’ चितवन प्रहरी प्रमुख (एसपी) भावेश रिमालले भने, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियान हुनेछ ।’
पछिल्लो ३ वर्षको तथ्यांकअनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको देखिएको छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन् । यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागुऔषध सेवनकर्ता रहेका छन् । जिल्लामा लागुऔषध दुव्र्यवसनीहरूको संख्या प्रत्येक बढ्दो क्रममा रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width