बाख्रा र हाँसको चल्ला वितरण

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८१
Chitwan news has bakhra

भरतपुर । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका किसानलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन् ।

अभियानकै क्रममा शनिबार पनि भरतपुर २२ का किसान परिवारलाई बाख्रा र हाँस वितरण गरिएको छ । १९ जना किसानलाई ५० वटा दरले हाँस र २० जनालाई २ वटाका दरले बाख्रा र २ बोका वितरण गरिएको हो । निर्वाहमुखी कृषिकर्म गरिरहेका किसानलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन् । ‘यो कार्यक्रममार्फत् बाख्रा, बंगुर कुखुरा र हाँस वितरण गरिनेछ । राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई २ लाखका दरले वितरण गरिनेछ,’ उनले भनिन् ।

भरतपुर २२ का अध्यक्ष विष्णुराज महतोले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका किसान नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । नव महिला कृषक समूहका अध्यक्ष कष्ण कुमारी महतोले हाँस बेचेर छोरा छोरीको पढाइमा खर्च गर्ने बताए । निर्वाहमुखी कृषि कर्म गर्ने किसानलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । गतसाल जेठमा समेत यहाँकै १५ परिवारलाई बाख्रा वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै