अन्तर्राष्ट्रियस्तरको ह्याण्डबल म्याट उद्घाटन

आदर्श समाज सम्वाददाता
माघ २३, २०७८
handball

पोखरा । फ्रान्समा निर्मित अन्तर्राष्ट्रियस्तरको गेरफ्लोर कम्पनीबाट उत्पादित ह्याण्डबल म्याट नेपाललाई पहिलो पटक प्राप्त भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ) ले सो म्याट पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीका लागि प्रदान गरेको हो ।
शनिबार म्याट उद्घाटन अवसरमा अग्रज ह्याण्डबल खेलाडी र पूर्व राष्ट्रिय खेलाडीले आफ्नो खेल कौशल देखाए । जसमा प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
झन्झटिलो प्रक्रियाका कारण सो म्याट नेपाल आइपुग्न ३ वर्ष लागेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव समेत रहेका गुरुङले आएचएफले नेपाली ह्याण्डबल खेलको विकासका लागि बहुमूल्य उपहार दिएको बताउँदै उनले भने, ‘अब हाम्रा खेलाडीहरुले धुले मैदानबाट मुक्ति पाएका छन् । यो मैदानको यहाँका विद्यार्थीले भरपूर उपयोग गर्नुपर्छ ।’
सदस्य सचिव गुरुङले म्याटको सुरक्षा र सरसफाइमा विशेष चासो दिन आग्रह गर्दै खेलाडी उत्पादनका लागि प्रदेश खेलकुदले समेत सहयोग रहने उल्लेख गरे । उनले म्याट नेपाल ल्याई पुर्‍याउन सहयोग गर्ने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार अर्थ मन्त्रालय, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद लगायतप्रति आभारसमेत व्यक्त गरे ।
कास्की जिल्ला ह्याण्डबल संघ कावा अध्यक्ष समेत रहेका चित्र थापाले कास्कीले अन्तर्राष्ट्रियस्तरको म्याट प्राप्त हुनु गौरवको विषय रहेको जनाउँदै नेपाल ह्याण्डबल संघप्रति आभार व्यक्त गरे । नेपाली राष्ट्रिय टिमका कप्तान विशाल बस्नेतले कोभिडका कारण सुस्ताएको ह्याडबलको विकासका लागि सो म्याट सहयोगी हुने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width