पोखराको तेर्सापट्टीमा नेवारी परिकार उत्सव

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
newali food festival

पोखरा । तेर्सापट्टी बुहारी समूहको आयोजनामा पोखरामा नेवारी परिकार उत्सव भएको छ । नेवारी खानाको संस्कृति बचाउन आयोजित सो उत्सवमा कार्यक्रमस्थलमै परिकार बनाउने तालिम समेत प्रदान गरिएको थियो ।

उत्सवको उद्घाटन गर्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्दै लैजानुपर्ने बताए । नेवाः खल कास्कीले नेवारी संस्कृति जगेर्नाका लागि जागरण अभियान चलाएको स्मरण गर्दै कास्कीका विभिन्न भेगमा अहिले नेवारी परम्परालाई जिवन्त राख्न कचाः खल, मिसा पुच, ल्याम्ह पुच सक्रिय रहेको बताए ।

तेर्सापट्टी बुहारी समूहकी अध्यक्ष नीलम उदासले नेवारी परिकार घरका चुलोमा पाक्न छाड्दा विभिन्न नेवारी चाडमा पाक्ने नेवारी परिकारको संस्कृति नै लोपोन्मुख हुने अवस्थामा नेवारी परिकार पकाउन सिकाउन लागेको बताइन् । उनले महिलालाई उद्यमी बनाउँदै आर्थिक सशक्तीकरण गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा पोखरा वडा २ का अध्यक्ष रामेश्वर मल्ल, वडा ३ का वडा सदस्य रविन कायस्थ, नेवाः मिसा पुचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ लगायतले बोलेका थिए । उत्सवमा प्रशिक्षार्थीले बनाएका परिकार स्टलमा राखिएको थियो । कार्यक्रमस्थलमै पकाएका खानेकुरा दर्शकले प्रत्यक्ष गर्नुका साथै मीठो मानेर चाखेको कार्यक्रम संयोजक शान्ति उदासले बताइन् ।

संस्थाले ३० भन्दा बढी महिला सदस्यलाई नेवारी परिकार निशुल्करुपमा पकाउन तालिम दिएकोे हो । जोःजलपा नेवारी किचनका सेफले प्रदान गरेको तालिममा नेवारी परिकार योमरी, छोयला, समयबजी, चटामरी, बारा, तखला, सन्यखुन्य लगायत पकाउन सिकाइएको थियो । भिन्तुना युवा क्लब, तेर्सापट्टीले परिकार उत्सवको व्यवस्थापनमा सघाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width