बजारीकरणमा नगरले सहयोग गर्ने

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७८
waling~

वालिङ । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताएका छन् ।
वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाका लागि कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना व्यावसायिक सिलाइकटाइ तालिम उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप सिक्न अनुरोध गर्दै उनले सिकेको सीप व्यावसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिए । ‘तपाईहरुले सीप भरपूर प्रयोग गरी व्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्,’ प्रमुख खाँणले भने, ‘उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक पहल नगरले लिन्छ ।’

नगरका १४ वटै वडामा उत्पादित पहिचानका सामग्री प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाको कोसेली घर

नगरका १४ वटै वडामा उत्पादित पहिचानका सामग्री प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताए । सीप सिकेपछि व्यवसाय सञ्चालनका लागि रकमको अभाव भए नगरपालिकाले बिनाधितो बिउँ पुँजी उपलब्ध गराउनुका साथै बैंकहरुसँग नगरपालिका जमानी बसेर सस्तो व्याजदरमा कर्जा उपलब्ध गराउने प्रमुख खाँणले बताए ।
कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाइकटाइ तालिम सञ्चालन गरिएको बताए ।
कार्यक्रममा कार्यपालिका सदस्य धनबहादुर कुमाल, कुमाल समाज वालिङका अध्यक्ष लोकबहादुर कुमाल, कुमाल समाज नेपालका केन्द्रीय सदस्य अमृता कुमाल, दियालो संस्थाका सीता गैह्रे लगायतले मन्तव्य व्यक्त गरे । संस्थाका अध्यक्ष कविता गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु गैह्रेले स्वागत र सञ्चालन दियालो युनएनडिपी परियोजनाका प्रमुख राधाकृष्ण डुम्रेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width