उत्तरदायी पत्रकारितामा जोड

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७८
fnj news~

पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा महासंघ गण्डकी र कास्की शाखामा कार्यरत पत्रकार लगायत गरी ६० जनाको सहभागिता थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ प्रशिक्षक जगत नेपाल र हिरण्य जोशीले प्रस्तुति दिएका थिए । पत्रकार महासंघका उपाध्यक्ष विष्टले पछिल्ला दिनमा अनुसन्धानमा रहेर गरिने पत्रकारिता हराउँदै गएको धारणा राखे । अनुसन्धनात्मक पत्रकारिताका लागि महासंघले छुट्टै योजना बनाएर अगाडि बढ्ने उनले बताए । पत्रकारको पेसागत अधिकार र हकहितका विषयमा पार्टीको पछि नलागी समान धारणा हुुनुपर्नेमा उपाध्यक्ष विष्टले जोड दिए ।
महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कोरोना कहरबीच महासंघले आफ्ना गतिविधि गर्न नपाएको जनाउँदै अब बिस्तारै तालिम लगायत अन्य कार्यक्रम गर्दै जाने धारणा राखिन् । पत्रकारको पेसागत सुरक्षाका लागि महासंघ सधैं अग्रसर रहने उनले बताइन् ।
प्रशिक्षक जगत नेपालले आचारसंहिताभित्र रहेर पत्रकारिता गर्न पत्रकारलाई सुझाव दिए । उत्तरदायी पत्रकारिता पछिल्ला समय चुनौतीको विषय भएकाले सबै सम्बन्धित निकाय चनाखो हुन आवश्यक रहेको बताए ।
अर्का प्रशिक्षक जोशीले पछिल्लो समय पत्रकारिता छाडा हुँदै गएको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । ४५ जिल्लामा गरिएको सार्वजनिक सुनुवाइमा मिडियामाथि नागरिकको विश्वास गुम्दै गएको पाइएकाले सजग हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीलगायतले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम, अभिमुखीकरण जस्ता कार्यक्रमहरु आवश्यक रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width