पोखरा । निंगालोको चोयाँसँग उनले प्रिती साटेको झण्डै ५ वर्ष भयो । धादिङबाट पोखरा झरेकी ४८ वर्षीया फूलकुमारी तामाङलाई तीज न तिहार, चाडपर्वको सुर्ता छैन । मात्र उनको ध्यान चोयाँको बिट कसरी मार्ने भन्नेमै छ ।
कोरोना महामारी रहे पनि गाउँसहर तीजको रमझममै छ । शनिबार ऋषिपञ्चमी । साडीमा सजिएका महिला दिदीबहिनीहरु कोही पैदलै त कोही स्कुटरमा ओहोरदोहोर गरिरहेका थिए । तर, पोखरा ५, पस्र्याङ धारापानी बस्ने तामाङलाई त्यसको कुनै चासो थिएन ।
बहत्तर सालको विनासकारी भूकम्पमा घरसँगै २ छोरी गुमाएपछि उनको परिवार धादिङबाट पोखरा झरेको हो । त्यहाँको गंगाजमुना गाउँपालिका १ स्थित आफ्नै घरले २ छोरी र उनलाई च्यापेको थियो । तत्काल उद्धार गर्दागर्दै ७ र २ वर्षीया छोरीहरुको प्राणपखेरु गइसकेछ । उनी भने अचेत थिइन् । उनको टाउको फुटेको थियो । कसैले पनि उनलाई बाँच्छ भनेकै थिएनन् । छोरीको शवसँगै अचेत श्रीमतीको दर्दनाक क्षण हेर्न नसक्दा हरिमान तामाङ बेहोस थिए ।
संयोगले तामाङ दम्पतीका ३ छोरा भने सकुशलै थिए । अचेत अवस्थामै उनलाई उद्धार गरी जिल्ला अस्पताल धादिङ पुर्याउँदा बल्ल उनको होस खुलेको थियो । त्यति बेला बाहिर डाक्टरको गाइँगुइँ सुनिहाले । ‘म होसमा आउँदा बाहिर डाक्टरहरुले यो महिला बाच्दैन भनेको सुने, बाँचे पनि रगत र गिदी मिसिएको छ कुनै कुरा मेसो पाउँदिनन्, डाक्टरले यसो भनेको मैले सुनें,’ उनले कहालीलाग्दो क्षण सम्झिइन्, ‘चल्न नसके पनि उनीहरुले त्यसो भनेको सुन्दा म बाँच्छु भन्ने लागेकै होइन ।’
फूलकुमारीको टाउको मात्र चोट थिएन, दायाँ हर नै चल्दैनथ्यो । जिल्लामा उपचार सम्भव नभएपछि भरतपुर पुर्याइयो । २२ दिन त्यहाँ उपचार गरेपछि थप उपचारका लागि छिमेकी देश भारत लगियो । भारतमा दायाँ हर उपचारपछि उनी सिधैं पोखरा आइन् । त्यो बेलासम्म उनका छरछिमेक विस्थापित भइ पोखराको पस्र्याङ धारापानीमा बसिसकेको थियो । छिमेकीसँगै उनको बचेका परिवारका सदस्य पोखरा आएका थिए । उनको जेठी छोरी भूकम्प जानुअघि बिहेपछि नै पोखरा आएकी थिइन् । उनी पनि छोरीसँगै पोखरा दीपमा बसिन् । भूकम्प गएको १ वर्षपछि उनी पूरै निको भएपछि छिमेकीसँगै धारापानीमै बस्न उनका ३ छोरा, श्रीमान्सँगै गइन् । उनको जहान त्यहाँ जाने बेलासम्म धादिङको री गाउँबाट ८ परिवार पुगिसकेको थियो ।
त्यस बेलासम्म सरकारले दिएको अनुदान, संघसंस्था दिएको सहयोग सकिसकेको थियो । परिवार पालिन धौंधौं थियो । श्रीमान्को ज्यामीको ज्यालाले गुजारा गर्न अप्ठेरो भयो । केही त गर्नुपर्छ भनेर सुरु गरिन्, अनि थालिन् चोयासँग खेल्न । बाबुबाजे ऊबेलादेखि गर्दै आएको काम उनले री गाउँमै सिकेकी हुन् । त्यसैले उनलाई चोयासँग खेल्न ईच्छा जाग्यो । श्रीमान् हरिमानले वनबाट निंगालो ल्याएर चोयाँ काढेर सहयोग गरे । कास्कीको ल्वाङ, घलेल, कृस्ती, भुर्जुङखोला, स्याङ्जा लगायत स्थानबाट ल्याएको चोयाँबाट उनले महिनामा १ सय वटा थुन्से तयार गर्छिन् । त्यसबाहेक अर्डर आएको खण्डमा डालो, कोक्रो, भकारी पनि बुन्ने बताउँछिन् ।
एउटा थुन्से ३ सयमा बेच्ने गरे पनि थोकमा लैजाँदा २ सयमै दिने गरेको उनले बताइन् । ‘एक महिनामा १ सय थुन्से बुन्छु,’ उनले भनिन्, ‘यही खरिद गर्न आउँछन्, सबै होलसेलमै जान्छ ।’ महिनामा २५ देखि ३० हजार कमाइ भए पनि लगानी अनुसार आम्दानी नहुँदा खर्च धान्न गाह्रो भएको उनको गुनासो छ । उति साह्रो फाइदा नभए पनि जानेको सीपले बसिबिंयालो गरेको उनले बताइन् । जेठा र महिला छोराले आ–आफ्नो सुर गरेकोमा कान्छा उनीसँगै बसेर पढ्छन् । कोरोना महामारीले झनै अप्ठेरो परेको उनको भनाइ छ । एपेन्डिटाइटिसका बिरामी श्रीमान्ले मासिक ५/६ हजारको औषधी खान्छन् । छोराको खर्च जुटाउन गाह्रो छ । उनको २० लाख जति त ऋण नै रहेको फूलकुमारीले बताइन् । त्यसैले पनि उनी दिनरात चोयासँगै दुख साट्छिन् । चाडपर्वसँग उनको कुनै सम्बन्ध छैन । ‘के गर्ने ? केही होला कि भनेर जानेको काम गर्नै पर्यो,’ आदर्श समाजसँगको कुराकानीमाले उनले भनिन्, ‘मर्न पनि सकिएन काल नआई मरिने रहेनछ ।’
री गाउँबाट आएका ९ परिवार धारापानी पाखामा ५ वर्षको लागि ५ लाख ५० हजार तिरेर बस्छन् । त्यहाँ बस्ने परिवारका पुरुषहरु ज्यामी काम गर्छन् भने अधिकांश महिला निंगालोको चोयामै दिन काट्ने बाटो बनेको छ । धारापानीमा एउटा बस्ती नै बसाएको री गाउँका महिला चोयाँबाट बनेको सामान बेचेर नूनतेल र दैनिक खर्च जुटाउनुपर्ने कठिन अवस्थामा छन् ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१