तनहुँ अण्डामा आत्मनिर्भर

सविन लामिछाने
भाद्र १८, २०७८
egg

दमौली  । तनहुँ अण्डामा आत्मनिर्भर मात्रै छैन, बाहिरी जिल्लासमेत निर्यात गदै आएको छ ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा १ वर्षमा २ करोड ६५ लाख २७ हजारभन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ । यसरी उत्पादित अण्डामध्ये ६० प्रतिशत अर्थात् १ करोड ५५ लाख १७ हजार अण्डा जिल्लामा खपत हुँदै आएको छ । बाँकी ४० प्रतिशत अर्थात् १ करोड १० लाख ९ हजार वार्षिकरुपमा निर्यात हुँदै आएको अनुमान पशु सेवा विज्ञ केन्द्रको छ ।
तनहुँको कुल जनसंख्या ३ लाख २३ हजार २ सय ८८ छ । प्रतिवर्ष १ जनाले ४८ अण्डा खपत हुने गर्दछ । सो खपतसहित जिल्लामा उत्पादन भएका अण्डा बाहिरी जिल्लामा निर्यात हुँदै आएको केन्द्रले जनाएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए । उनका अनुसार तनहँुमा अण्डा तथा पोल्ट्री क्षेत्रमा लगानी गर्नेको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो । ‘अण्डामा तनहुँ आत्मनिर्भरमात्र छैन, खपतसँगै जिल्लाबाहिर निर्यात भइरहेको छ’, उनले भने, ‘कोभिड संक्रमणयता भने अण्डाको अत्यधिक खपत बढ्यो ।
उनका अनुसार संक्रमणले अण्डा खानुपर्छ भन्ने मानसिकताको विकास गरेको छ । कोभिडपछि जिल्लाभित्रै अण्डाको खपत बढेको छ । गत २ वर्षकोे तुलनामा अण्डा उत्पादन वृद्धि भएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा २ करोड ६० लाख ८३ हजार कुखुराको, २ लाख २७ हजार हाँसको र २ लाख १६ हजार अन्य पन्छीको अण्डा उत्पादन भएको कार्यालयले जनाएको छ । गत आवमा १ करोड ६२ लाख ९४ हजार गोटा अण्डा उत्पादन भएको थियो । यस्तै, आव २०७५/७६ मा १ करोड ५२ लाख ५७ हजार गोटा अण्डा उत्पादन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width