स्मार्ट लकडाउन : झनै बढ्न थाल्यो संक्रमण

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७८
Corona Banner

पोखरा । कोरोना नियन्त्रणका लागि कास्की प्रशासनले वैशाख १५ देखि दोस्रो चरणको पूर्ण लकडाउन घोषणा गर्‍याे । त्यसअघि पनि आंशिक रुपमा लकडाउन भएकै थियो । बैशाख पहिलो साता प्रदेशमा ६६ जना संक्रमित थिए । कास्कीका ४६ जनामा कोरोना लागेको थियो । पूर्ण रुपमा लकडाउन जारी रहेको बेला बैशाख २० मा २ सय ३ जना संक्रमित भएकोमा कास्कीका ७१ जना थिए ।

लकडाउन कडा बनाउँदा २ सय ३ जना संक्रमित भएपनि लकडाउन खुकुलो हुँदा शनिबार प्रदेशमा ५ सय १९ संक्रमित थपिए ।

त्यसपछि भने क्रमिक रुपमा बढ्दै जाँदा लकडाउन झनै कडा बनाइयो । कोरोनाबाटै मृत्यु हुनेको संख्या एकै दिन ३० भन्दा  पुगेको थियो । लकडाउनमा कडाइ गरेकै कारण जेठ अन्त्यतिर केही संख्यामा संक्रमित घट्न थाले । असार दोस्रो सातादेखि भने प्रशासनले लकडाउन खुकुलो बनाउँदै गयो । त्यसको असर मानिसको चहलपहलमा पर्‍याे । बजार खुल्न थाले, भीडभाड जम्मा हुँदै गयो ।

गण्डकी प्रदेशमा पछिल्ला दिन संक्रमित संख्या बढ्न थालेका छन् भने मृत्यु हुने पनि धेरै नै छन् । लकडाउन कडा बनाउँदा २ सय ३ जना संक्रमित भएपनि लकडाउन खुकुलो हुँदा शनिबार प्रदेशमा ५ सय १९ जना संक्रमित भएका छन् ।

तीमध्ये कास्कीका मात्र २ सय ५५ जना छन् । मनाङ, मुस्ताङ, पर्वत र म्याग्दीमा भने संक्रमितको संख्या शून्य छ । तनहुँमा १ सय ७, गोरखामा ५७, नवलपुरमा ५४, स्याङ्जामा ३६, बाग्लुङमा ८ र लमजुङमा २ जना संक्रमित भएका छन् । योसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५८ पुगेको छ ।

प्रदेशमा शनिबार २ सय २२ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म ६१ हजार ६ सय ४८ पुगेको छ । नेपालभर शनिबार २ हजार २ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पिसिआर परीक्षणमा थप २ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ६ लाख ९५ हजार ३ सय ८९ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २ सय ५६ परीक्षणबाट ८ सय २६ जनामा पोजिटिभ देखिएको छ । २४ घन्टामा पिसिआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार ५ सय १९ परीक्षणमा ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ ।

थप ८ जनाको मृत्यु

गण्डकी प्रदेशमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका ४ सहित नवलपुरका २, स्याङ्जा र पर्वतमा १/१ जनाको मृत्यु भएको हो ।
पोखरा १० का ८४ वर्षीय कोरोना संक्रमित पुरूषको मेडिप्लस अस्पताल, पोखरामा उपचार क्रममा मृत्यु भएको छ । पोखरा १४ की ३६ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा निधन भएको छ । पोखरा १९ की ८४ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको छ भने पोखरा २५ का ५० वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा ज्यान गयो ।

यसैगरी, नवलपुर कावासोती १ का ४० वर्षीय कोरोना संक्रमित पुरूषको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । कावासोती १ की ४५ वर्षीय महिलाको सोही अस्पतालमा निधन भयो । साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जा पुतलीबजार १ की ६० वर्षीया महिला र पर्वत फलेवास ६ की ७५ वर्षीया महिलाको उपचारक्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९६ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २३ को मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width