बाख्रापालक किसानलाई अनुदान र ब्याडे बोका वितरण

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७८
goat~manju grg

पोखरा । पोखरा महानगरले वडा नम्बर १६ र २० का बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । महानगर पशु सेवा शाखाले किसानलाई लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रमअन्तर्गत २ वडाका ५० किसानलाई २० हजारका दरले बाख्रा खरिदमा अनुदान वितरण वितरण गरेको हो ।
पोखराका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य र पोखरा २० का अध्यक्ष सिम गुरुङले बिहीबार अनुदान वितरण गरेका थिए । २ वडामा १/१ वटा ब्याडे बोकासमेत दिइएको महानगर पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार १ बोकाको मूल्य १ लाख पर्छ । महागनरले कृषिलाई प्राथमिकता दिएर किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको महानगर कार्यवाहक प्रमुख गुरुङले बताइन् । आर्थिक समृद्धिको प्रमुख आधार कृषि र पशु रहेको बताउँदै उनले कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिइन् ।
उनले महिलालाई व्यावसायिक बनाउँदै आर्थिक रुपमा सबल र सक्षम बनाउन उपप्रमुखसँग महिला कार्यक्रमसमेत सञ्चालन गरिएको बताइन् । कार्यक्रममा पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले आफ्नो वडा ग्रामीण क्षेत्र भएकाले पशुपालनमा सम्भावना रहेको बताउँदै स्थानीय जातका बाख्राको माग बढी रहेको बताए । पोखरा २० का अध्यक्ष सिम गुरुङले पशुपालनमा किसानलाई अनुदानले प्रोत्साहन थप्ने बताउँदै व्यावसायिक बनाउन आग्रह गरे । बाख्रा किसान दुर्गाबहादुर गुरुङले किसानलाई धेरै समस्या रहेको बताउँदै अनुदानका लागि प्रक्रिया झन्झटिलो रहेको गुनासो गरे । उनले कर तिर्न एकद्वार प्रणालीको विकास गर्न आग्रहसमेत गरे । कालीखोला बाख्रापालन समितिका अध्यक्ष यमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि सञ्जाल पोखरा १६ का अध्यक्ष सुभाष अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width