गण्डकीमा पनि भेटियो कोरोनाको तेस्रो भेरियन्ट

आदर्श समाज सम्वाददाता
असार २८, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा कोरोनाको तेस्रो भेरियन्ट डेल्टा संक्रमित भेटिएका छन् । प्रदेशको २ जिल्लाका ५ जनामा डेल्टा भेरियन्ट पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जामा २ र गोरखामा ३ जनामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ संक्रमण भएको हो । पोखराबाट नयाँ भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौं पठाएका ५ वटा नमुनामा नयाँ भेरियन्ट फेला परेको हो । कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ ।

पछिल्लो २४ घन्टामा प्रदेशमा १ हजार १ सय ५३ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४ सय १० जनामा कोरोना पोजेटिभ देखिएको हो । कास्कीका २ सय १४ सहित म्याग्दीका ४, पर्वतका २९, गोरखाका १०, लमजुङका १५ र तनहुँका ११ जना संक्रमित भएका हुन् ।

नयाँ भेरियन्ट जाँचका लागि ५ नमुना काठमाडौं पठाइएकोमा स्याङ्जाका २ र गोरखाका ३ जनामा डेल्टा पुष्टि

यसैगरी बागलुङका १ सय १९, स्याङ्जाका ४ र नवलपुरका ४ जनामा पोजेटिभ देखिएको हो । मनाङ र मुस्ताङबाहेक प्रदेशका ९ जिल्लामा २ सय ३१ पुरुष तथा १ सय ७९ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार १ सय ६४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३ सय जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५५ हजार २ सय ७२ पुगेको छ । देशभर १ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ५५ हजार ४ सय ४९ पुगेको छ । यस्तै, २४ घन्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ ।
गण्डकीमा मृत्यु हुने हजार नाघे

गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएसँगै प्रदेश कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । बागलुङ र कास्कीका २÷२ सहित स्याङ्जा, म्याग्दी र तनहुँका १÷१ जनाको ज्यान गएको हो ।

कास्कीको पोखरा नगरपालिका १४ का ४९ वर्षीय कोरोना संक्रमित पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका २९ का ६२ वर्षीय कोरोना संक्रमित पुरूषको मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा निधन भएको हो । बागलुङको तमानखोला गाउँपालिका १ की २३ वर्षीया कोरोना संक्रमित महिलाको धौलागिरी अस्पताल, बागलुङमा उपचारको क्रममा ज्यान गएको हो । बागलुङ नगरपालिका १२ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो ।

यसैगरी म्याग्दीको बेनी नगरपालिका १ की ८२ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । तनहुँको भानु नगरपालिका ११ का ६० वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा निधन भएको हो । स्याङ्जाको वालिङ नगरपालिका ५ का ३४ वर्षीय पुरूषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो ।

योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width