केरा खेतीको पकेट क्षेत्र

रासस
असार १७, २०७८
MP_Parashi-Banana5

म्याग्दी । रघुगंगा गाउँपालिका २ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केरा खेतीको पकेट क्षेत्र बनाइएको छ । स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केरा खेती गरेका हुन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत् ३५ किसानले व्यावसायिक रूपमा केरा खेती गरेका छन् ।
केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीको लहर चलेको बताए । ‘धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट ४÷५ गुणा बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘भूगोल र हावापानी अनुकूल भएकाले केरा खेतीमा लागेका हौं ।’ सो क्षेत्रमा यसअघि घरायसी प्रयोजनका लागि केरा खेती हँुदै आएको थियो ।
परीक्षणका लागि केही किसानले धेरै संख्यामा लगाएको केराले उत्पादन र आम्दानी दिन थालेपछि अरू पनि आकर्षित भएका हुन् । गाउँभरि केरा खेती गरिएको छ । यसअघि रघुगंगा वडा नं २ र ३ मा केरा खेती गर्ने किसानका २ समूह थिए ।
२ वटै समूहलाई एकीकृत गरेर केरा पकेट विकास कार्यक्रम सुरु गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मनोज सुवेदीले बताए । चालु आवमा गाउँपालिकाले ७ लाख ५० हजार विनियोजन गरेको केरा पकेट कार्यक्रमलाई किसानले पनि त्यति नै लगानी साझेदारी गरेका छन् ।
‘१ सय रोपनीमा स्थानीय हजारी जातको केराका नयाँ बिरुवा रोप्ने कार्यक्रम अन्तिम चरणमा छ,’ सुवेदीले भने, ‘कार्यक्रममार्फत उपकरण, मल, विषादीमा सघाएका छौं ।’ सिँचाइका लागि १ हजार ५ सय मिटर पाइप खरिद गरेका समूहले ५ हजार ६ सय नयाँ केराका बिरुवा रोपेका छन् ।
२ खाडल खन्ने उपकरण र ५ यान्त्रिक हलोका साथै गोठेमल, रासायनिक मल, केराको बीउ खरीदमा अनुदान दिइएको छ । १ किसानले १ सयदेखि ५ सय केराका बिरुवा रोपेका छन् । किसानको आयआर्जन वृद्धि र जीवनस्तर सुधारका लागि राममन्दिरलाई केरा खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न लागिएको वडा नं २ का वडाध्यक्ष रीम कटुवालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width