विवेकशील साझाको कृषि अभियान

आदर्श समाज सम्वाददाता
जेठ ३१, २०७८

स्याङ्जा  । स्याङ्जामा विवेकशील साझा कृषि अभियान सुरु भएको छ । कोरोना माहामारीले रोजगारी गुमाएका तथा स्वरोजगार बन्न इच्छुक दशौं हजार स्याङ्जालीलाई आफ्नो घर, टोलमै स्वरोजगार बनाउने अभियानको लक्ष्य छ ।

विवेकशील साझा पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सचिवालय सदस्य एवं कृषि तथा सहकारी प्रमुख हिरामणि पौडेलले सो जानकारी दिएका हुन् । उनका अनुसार पार्टीको केन्द्रीय कृषि तथा सहकारी विभागको समन्वयमा सञ्चालन गरिने यो अभियान कृषि र सहकारी क्षेत्रमा कार्यरत रहेका इच्छुक सबै स्याङ्जालीसँग हातेमालो गरी सञ्चालित हुनेछ । अभियानका मुख्य क्रियाकलापअन्तर्गत जिल्लाका गाउँसहर सबै टोलबाट कम्तीमा १ जना सूचना प्रविधिमैत्री कृषि स्वयंसेवक चयन गरिने छ । केन्द्रीय कृषि तथा सहकारी विभाग समन्वयमा विज्ञद्वारा कृषि स्वयंसेवकलाई नियमित तालिम, छलफल अन्तक्रिया गराइने भएको छ ।

यसैगरी, कृषि स्वयंसेवकले विभागमार्फत विज्ञ र एप सहयोग लिई आफ्नो कृषि व्यवसाय साथै छिमेकीको समेत व्यावसायिक र आधुनिक कृषि योजना निर्माणमा सहयोग गर्ने छन् । १ जना कृषि स्वयंसेवकले १ सय घरसम्मलाई समेटन सक्ने छन् । जसमा व्यवसायलाई व्यवस्थित गर्दै आफ्नो टोल र जिम्मेवारीभित्रका अरु कृषकको प्राविधिक समस्या, लगानी व्यवस्थापन काम र उत्पादित कृषि उपजको बजारीकरणको काम गर्ने छन् । १ वर्षभन्दा बढी सो अभियानमा आवद्ध भई कृषिका विभिन्न विधामा ज्ञान र दक्षता हासिल गर्ने कृषि स्वयंसेवकले सम्बन्धित सरकारी निकायबाट सीप परीक्षणपछि प्रमाणपत्र लिन सक्ने छन् ।

त्यस्तै, कृषि क्षेत्रका प्राविधिक समस्या समाधानका लागि विभागमार्फत विज्ञको सहयोगका साथ साथै एप प्रयोग हुनेछ । स्वयंसेवकले २४ घन्टाभित्रै कृषि क्षेत्रमा देखिने प्राविधिक समस्याको समाधान दिन सक्ने गरी एप प्रयोग गरिएको छ ।
कृषकको उत्पादन प्रचलित बजार मूल्य अनुसार बिक्री हुने गरी खरिद बिक्री सम्झौताको व्यवस्था गरिने छ । यसका लागि जिल्लाभित्रका व्यापारी, पोखरा, नारायणघाट, बुटवल र कालिमाटी काठमाडौंमा समन्वय गरिएको छ । सहरी कृषि अभियानअन्तर्गत स्याङ्जाका सहरी क्षेत्रमा करेसाबारी र कौशी खेतीका योजना यस अभियानमा समेटिएको छ । विवेकशील साझा पार्टीका स्याङ्जाका संयोजक भीमनारायण कोइरालाले विवेकशील साझा कृषि अभियानमा आवद्ध भई लाभ लिन आग्रह गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width