विपत कास्की कांग्रेसको साथ

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
Congress Flag

पोखरा । नेपाली काँग्रेस कास्कीले कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा छलफल गरेको छ । उसले कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो ।

पार्टी सभापति कृष्ण केसीको पहलमा भएको छलफलमा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिबद्वता व्यक्त गरिएको छ । ‘छलफल निकै उपयोगी भयो,’ सभापति केसीले भने, ‘सुझावकै आधारमा योजना तय गर्ने छौं ।’

छलफलबाट प्राप्त सुझाव आधारमा कास्की काँग्रेसको बैठकले विपत्का बेला जनतासँग जोडिने योजना तय गर्ने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । कोरोना महामारीसँगै बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनी छलफल गरेको प्रवक्ता सिग्देलले बताए ।

वैशाख २६ को बैठकले कोरोना संक्रमित बिरामीको सहजताका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ देखि एम्बुलेन्सले सेवा दिइरहेको छ । सेवा प्राप्त गर्न चाहनेले देवेन्द्र रानाभाट (९८४६०२६७६६) र विजयराज अधिकारी (९८५६०५४२२२) लाई सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ । हालसम्म १ सय भन्दा बढी बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिइसकेको जनाइएको छ ।

एम्बुलेन्सले पोखरासहित हंसपुर, थुमाकोडाँडा, थुम्सीकोट, माझठाना, घाँटीछिना, लुम्ले, ल्वाङघलेल लगायत क्षेत्रमा पुगेर बिरामीलाई सेवा दिने गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width