गैंडाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

आदर्श समाज सम्वाददाता
जेठ ३, २०७८
gaidakot mun

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

गैडाकोट नगर प्रमुख छत्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा आइतबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएको छ ।

गैडाकोटमा संक्रमितको संख्या बढ्दै गए पछि नगरपालिकाले प्रशासनले जारी गरेको निषेधाज्ञालाई थप कडाई गर्न लागेको हो ।

नगरपालिकामा औषधी उपचार गर्न र दूध तथा पानी खरिद बिक्री गर्न बाहेक कोही पनि घरबाहिर निस्कन र हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको आईतबार बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख छत्रराज पौडेलले बताए ।

नगरपालिका क्षेत्रभित्र सञ्चालित बैंक तथा सहकारी समेतका वित्तीय संस्था न्युनतम कर्मचारीको उपस्थितिमा हप्ताको दुई दिन सोमबार र बिहीबार १० बजेदेखि १२ बजेसम्म २ घण्टा मात्र खुल्ला रहने गरि व्यवस्था मिलाउन भनिएको छ ।

एम्बुलेन्स, शववाहन, दूध र पानी ढुवानी गर्ने सवारी साधन, औषधी उपचारजन्य सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन बाहेक अन्य कुनैपनि सवारी साधन चलाउन नपाईने उल्लेख गरिएको छ ।

त्यस्तै विवाह, व्रतबन्ध, पूजाआजा तथा अन्य चाडपर्व मनाउने जस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रममा समेत रोक लगाईएको छ । मृत्यु संस्कारमा १५ जना भन्दा वढि मलामी नजान र जानुपरेमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अनिर्वाय गरिएको छ ।

गैडाकोटमा अहिले ४ सय बढी सक्रिय संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width