प्रदेश खेलकुदले सार्वजनिक गर्‍यो लोगो, रणनीतिक कार्ययोजना तय

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
sports logo

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिकसँगै रणनीतिक कार्य योजना तय गरेको छ ।
जुममार्फत् शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको हो । सार्वजनिक गरिएको लोगोमा मूलरुपमा ४ वटा विषयलाई झल्काएको छ ।

नेपालको राष्ट्रिय झण्डा, प्रदेशको भौगोलिक नक्सा, प्रतिकात्मक टर्च लिएर दौडिँदै गरेको खेलाडी, राष्ट्रको गौरवको रुपमा रहेको माछापुच्छ्रे हिमाल र फेवाताल, शान्ति र समृद्धिको प्रतिक नीलो तथा सेतो रङसँगै ओलम्पिक रिङको प्रतिकात्मक संकेतलाई एकाकार गरी प्रदेश खेलकुद परिषदको लोगो परिकल्पना गरिएको छ ।

उक्त लोगो निर्माणका लागि प्रदेश खेलकुद परिषदले परिषदका सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । जसको सदस्यमा केशव पाठक र निर्मला बराल रहेका थिए ।

प्रदेश खेलकुदका सदस्य सचिव तेजबहादुर गुरुङले भर्चुअल माध्यमद्वारा प्रदेशको लोगो सार्वजनिक गरेका हुन । उक्त अवसरमा उनले रणीनतिक कार्ययोजना तयबारे जानकारी दिँदै सदस्य सचिव गुरुङले प्रदेश खेलकुदको ‘भिजन’, ‘मिसन’, ‘भ्यालुज’ र ‘मोटो’ सहित ४ वटा रणनीतिक आधारहरु तय गरेको बताए । प्रदेश खेलकुदले सार्वजनिक गरेको मिसनमा उत्कृष्ट जीवनशैली, खेल सबैको नैसर्गिक अधिकार, सुशासन, विश्वस्तरको पूर्वाधार र स्रोत परिचालनलाई मुलभूतरुपमा अघि सारेको गुरुङले बताए ।

सदस्य सचिव गुरुङले भने, ‘विश्वको २१ औं शताव्दीको खेलकुदसँगै संयुक्त राष्ट्र संघले अघि सारेको सन २०३० सम्म दिगो विकास लक्ष्य गर्न हामी सफल हुनेछौं ।’ त्यसै गरी प्रदेश खेलकुदले आफ्नो भिजन अन्तर्गत अनुशासन, गतिशीलता, विकास र गरिमालाई अघि सारेको छ । राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने मुल दृष्टिकोणलाई प्रदेश खेलकुदको मार्ग चित्रण गरेको सदस्य सचिव गुरुङको भनाइ थियो ।

११ वटै जिल्ला खेलकुदका अध्यक्ष सहित पदाधिकारी र प्रदेश खेलकुदका सदस्यहरुको सहभागितामा भएको उक्त भर्चुअल कार्यक्रममा जिल्लाका अध्यक्षहरुले प्रशिक्षण तथा प्रतियोगिता, पूर्वाधार निर्माण, प्रोत्सहान तथा पुरस्कार, कार्यालय व्यवस्थापन, र अर्थिक वर्षको बजेट निर्माण तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा समेत छलफल भएको थियो । यसै गरी कोभिड १९ का विषम परिस्थितिका कारण समस्यमा रहेका १३ औं दक्षिण एसियाली खेलकुद (साग) र ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकधारी खेलाडीहरुको नामावली संकलनका लागि समेत प्रदेश खेलकुदले सबैलाई आग्रह गरेको छ ।

कार्यक्रममा बोल्दै भिजनरी इन्टनेसनलका सिइओ इन्द्र गुरुङले गण्डकी प्रदेश देशकै गौरव गर्ने प्रदेशको रुपमा रहेको बताउँदै प्रदेशलाई खेलकुदको राजधानीका रुपमा अगाडी बढाउन प्रदेश खेलकुदले बोकेको सपना चाँडै नै साकार हुनेमा आफू विश्वस्त रहेको बताए । उनले प्रदेश खेलकुदले आफ्नो गोरेटो तय गरी सकेको बताउँदै भनाई र गराईमा समेत एक रुपता ल्याउन सकोस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, खेलकर्मी ध्वजकुमार गुरुङ, परिषदका सदस्य दिलबहादुर गुरुङ, विभिन्न जिल्लाका अध्यक्षहरुले समेत आ–आफ्ना धारणा अघि सारेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width