चितुवासँग भिडे सिसाघाटका कुमाल दाजुभाइ

सविन लामिछाने
वैशाख ८, २०७८
chituwwa mare

दमौली । तनहुँको व्यास नगरपालिका ६ सिसाघाटका २ कुमाल दाजुभाइ मिलेर चितुवालाई नियन्त्रणमा लिएका छन् । ५२ वर्षीय मदन र उनका भाई ४० वर्षीय भेषबहादुर कुमाल मिलेर चिुतवालाई जीवितै नियन्त्रणमा लिएका हुन् ।

छिमेकीको घर नजिक रहेको गोठमा आएर भैंसीलाई आक्रमण गर्न लागेपछि महिलाले गुहार मागेकी थिइन् । भैंसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलालाई आक्रमण गर्न लागेको थियो । त्यसपछि गोठालो जाँदै गरेका मदनले महिलालाई बचाउन पुगेका थिए । जब कुमाल पुगे, तब चितुवा जाइलाग्यो ।

त्यसपछि कुमालले भिडेर चितुवाको खुट्टा च्याप्पै समाते अनि टाउको पनि । ३ मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि दमौली जान लागेका उनका भाइ भेषबहादुर पनि घटनास्थल पुगे । कुमाल दाजुभाइ मिलेर चितुवालाई नियन्त्रणमा लिए ।

‘दाइले चितुवालाई समातेको देखिपछि मैले चितुवाको मुखमा सानो काठको टुक्रा कोचिदिएँ,’ भेषबहादुरले भने, ‘चितुवा बुढो अनि बिरामी रैछ । त्यही भएर सजिलैसँग चितुवा नियन्त्रणमा लिन सकियो ।’ बस्तीभन्दा माथि रहेको जंगलमा केही दिन अघि डढेलो लागेको कारण चितुवा बस्तीमा आएको उनको अनुमान छ ।

उनले भने, ‘केही साता अघि गाउँभन्दा माथि जंगलमा डढेलो लागेको थियो । त्यसपछि केही जंगली जनवार बस्तीमा देखापरेका छन् ।’ स्थानीयले चिुतवा प्रहरीलाई जिम्मा लगाएका छन् । चितुवा घाइते भएको र उपचारका लागि दमौली ल्याएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

झण्डै २ वर्षदेखि तनहुँमा चितुवा आतंक रहेको छ । जंगलमा आहारा नभएपछि चितुवा मानवबस्ती छेउ आउने गरेको विज्ञहरु बताउँछन् । पासो थापेर मात्रै झण्डै १ दर्जन चितुवा नियन्त्रणमा लिएको छ भने २ वर्षको अवधिमा तनहुँमा १० बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width