बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै

रासस
चैत्र १९, २०७७
Bandipur

तनहुँ । बन्दीपुर गाउँपालिका १ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताए ।

गाउँपालिकाले बाख्रापालनका लागि वडा नम्बर १ लाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उनले बताए । वडाका अगुवा किसानलाई जिल्लाको भीमाद नगरपालिका ९ पाथर्दीस्थित नमूनारूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइएको उनले बताए ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालक किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो । बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली किसानन समूहलाई प्रदान गरिनेछ । उनले भने, ‘किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधी व्यवस्थापन दाना, घाँसलगायतका सम्पूर्ण काम गर्नेछन् ।’

वडामा रहेको १० टोलका बाख्रापालक किसान समूहमा आबद्ध हुनेछन् । गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालक किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । बाख्रापालन पकेट क्षेत्र बनाउनका लागि सुरुमा १ हजार बाख्रा राखिनेछ । उनले भने, ‘१ घरधुरीले कम्तीमा ५ वटा माउ बाख्रा पालेको हुनुपर्छ ।’

प्रधामन्त्री कृषि परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले १५ लाख छुट्याइदिएपछि गाउँपालिकाले निर्णय गरेर उक्त किसान समूहलाई रकम हस्तान्तरण गरेको हो । १ सय ५० जना बाख्रापालक किसान छनोट भइसकेको र बढ्ने क्रम जारी रहेको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर १ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम सुरु भएपछि त्यस क्षेत्रका बाख्रापालन किसान थप उत्साहित भएर लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width