हेमजा। आँटीघरका वीरबहादुर गुरुङ उमेरले ७३ वर्ष पुगे । ८÷९ वर्षको छँदा त्वोङ्यो ढाप मैदानमा खाली खुट्टाले झुम्राको बल खेलेको ताजै लाग्छ । समय क्रमसँगै वीरबहादुर २० वर्षको हुँदा भारतीय सेनामा भर्ती भए । सुवेदार पदबाट हाल सेवा निवृत्त भैसकेका छन् । उनलाई पल्टनमा कार्यरत् हुँदा बेलाबखत मैदानको याद आइरहन्थ्यो ।
आफू सानो छँदा बल खेल्न दौडेका वीरबहादुर शनिबार हर्षविभोर बने ।
मैदान स्तरोन्नतिको शिलान्यासका लागि गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र पोखरा–२० का वडाध्यक्ष सिमबहादुर गुरुङ पुगेका थिए ।
मैदान स्तरोन्नतिको लागि आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्ने वीरबहादुरले मञ्चबाटै प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरिरहेका निर्माण समिति अध्यक्ष तिलबहादुर गुरुङले झुम्राको बल खेल्दा आफ्नो खुट्टाको नङ भाँचिएको सम्झिए । नङ भाचिँदाको क्षण र १६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनेको उक्त मैदान स्तरोन्नति कार्यबीच तुलना गरेर हेरे । तिलबहादुरले भने, ‘हामी सबै मिली मैदान निर्माण गरौं । गाउँमा बाहिरका मान्छे पनि आउँछन् । होमस्टे पनि चल्छन् र होटल तथा रेष्टुरेन्ट अझै खुल्छन् ।’
वीरबहादुर र तिलबहादुर प्रतिनिधि पात्र हुन् । उनीहरु जस्तै सयौं मौजावासी खेलमैदान स्तरोन्नति हुने भएपछि खुसी छन् । गाउँमा उत्पादित बाख्रा तथा तरकारी बिक्ने, होमस्टे प्रवद्र्घन हुने, टाढाटाढाबाट खेल खेल्न तथा हेर्न मानिसहरु आउने, व्यापार बढ्ने र मौजाको मुहार फेरिने उनीहरुको विश्वास छ ।
पोखरा महानगरपालिकाले हाइ अल्टिच्युड खेल मैदान निर्माण अन्तर्गत शनिबारदेखि उक्त मैदान स्तरउन्नति थालेको हो । जसको जिम्मा रक्षा एन्ड रञ्जन सप्लायर्स एण्ड कन्ट्रक्सन तनहुँले पाएको छ । यो वर्ष ४० लाखमा मैदान सम्याउने, बाल तथा गोलपोस्ट निर्माण गर्ने लगायत प्रारम्भिक कार्य हुनेछन् । सो मैदान समुद्री सतहबाट १ हजार ५ सय ६० मिटरको उचाइमा पर्दछ ।
महानगर प्रमुख मानबहादुर जिसीले खेल मार्फत पर्यटन प्रवद्र्घन गर्ने उद्देश्य अनुरुप मैदान स्तरउन्नति गर्न लागिएको बताए । ‘अबको ३/४ वर्षमा डिपिआरमा उल्लेखित सबै काम निर्माण सक्ने योजना हाम्रो छ । त्यसका साथै हाइअल्टिच्युड एकेडेमी सञ्चालन गरिनेछ,’ उनले भने, ‘यसरी नै सबै वडामा ठूलो वा सानो खेल मैदान निर्माण हुन्छ ।’
प्रदेश सांसद विन्दुकुमार थापाले मैदान निर्माणमा महानगर र प्रदेशले सहकार्य गर्ने बताए । साथै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत पनि सहयोग गर्ने उनले प्रतिबद्घता जनाए ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ अध्यक्ष देवेन्द्रकुमार शेरचन, महानगर सहरी योजना आयोग उपाध्यक्ष आरसी लामिछाने, एन्फा कास्की अध्यक्ष मिलन गुरुङ, वडाध्यक्ष सिमबहादुर गुरुङ, इन्जिनियर शारदामोहन काफ्ले, निर्माण समिति अध्यक्ष तिलबहादुर गुरुङ, हिमालय मावि प्रअ मणिराज परियार लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
आहारारामा को होला च्याम्पियन ?
पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१