सुत्केरीलाई गाउँपालिकाको भत्ता

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७७
sutkeri-mahila

वालिङ ।  हरिनास गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले चालू आवको सुरुआतसँगै उक्त कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष झनमाया पराजुलीले बताइन् ।

गर्भवती भएका बेलामा गर्नुपर्ने जाँच, बच्चा जन्मिइसकेपछि लगाउनुपर्ने खोपको मात्रा पूरा गरेका र स्वास्थ्य संस्थामा गई सुत्केरी भएका महिलालाई गाउँपालिकाले जनही २ हजार ८ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

‘गाउँपालिकाले दिएको सुविधासँगै चेकजाँच गराउन आउने महिलाको संख्या बढेको छ,’ उपाध्यक्ष पराजुलीले भनिन्, ‘सुत्केरी आमा स्वास्थ्य एवं नवजात शिशुको मानसिक तथा शारीरिक विकास राम्रो गराउन हाम्रो ठाउँबाट लागेका छौं ।’

गर्भ रहेदेखि २ वर्षसम्मको सुनौला हजार दिन अवधिमा सुत्केरी महिला तथा बच्चालाई पोसिलो आहारामा ध्यान दिन सकेमा बच्चा कुपोषित नहुने र उनीहरुको ८० प्रतिशत वृद्धि विकास सोही अवधिमा हुने भएकाले पनि स्वस्थ बच्चाको परिकल्पना गरी लगानी गरिएको उनको भनाइ थियो ।

स्वास्थ्यका क्षेत्रमा बिनियोजन गरिएको रकम खर्च नभई भोलिको लागि स्वस्थ पुस्ता उत्पादनका लागि लगानी भएकाले प्राथमिकतामा राखेर कार्यक्रम थालनी गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमका लागि गाउँपालिकाले चालू आवका लागि ३ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width