गण्डकीमा मनाइयाे सिमसार दिवस

आदर्श समाज सम्वाददाता
माघ २०, २०७७
wetland day (2)

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिमसार क्षेत्र जीवन प्रणालीको महत्वपूर्ण अंग रहेको बताएका छन् । ‘सिमसार र पानी’ भन्ने मुलनाराका साथ विश्व सिमसार दिवसको अवसरमा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र डब्लुडब्लुएफले फेवाताल किनारमा अवस्थित माछापुच्छ्रे पार्कमा गरेको कार्यक्रममा मन्त्री गुरुङले सिमसार क्षेत्र हरेक प्राणीहरुको जीवन पद्धतिसँग जोडिएको बताए ।

पृथ्वीमा जीव तथा जीवनको अस्तित्वका लागि सिमसारले अतुलनीय योगदान गर्दै आइरहेको उनको भनाइ थियो ।

सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली भएको चर्चा गर्दै उनले सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । मन्त्री गुरुङले उच्च हिमालयको पानीका मुलबाट बनेका वा केही अंश रहेका नेपालका सिमसार क्षेत्रको विशेषता पृथक रहेको चर्चा समेत गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पानी तथा सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले तदारुकताका साथ काम गरेको बताए । सिमसार क्षेत्र तथा तालहरुको संरक्षण तथा विकास गर्न प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गरी काम गरेको बताउँदै मन्त्री लम्सालले सिमसारले सामाजिक तथा आर्थिक विकासमा टेवा पु¥याउने जनाए ।

सिमसार क्षेत्रले मानव जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका अतिरिक्त मानव सभ्यता र संस्कृतिको जगेर्ना समेत गर्ने भएकोले यसको संरक्षण गर्नु मानव दायित्व भएको बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले पृथ्वीमा पानीको संकट दिन प्रतिदिन बढ्दै गएको र यसले मानव जाति र जैविक विविधतालाईनै असर पारेको बताए । उनले पृथ्वीले पुनर्भरण गर्ने क्षमताभन्दा मानवजातीले बढी दोहन गरेका कारणले पारिस्थितिकीय प्रणाली र सिमसार क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र जगेर्ना गर्न तर्फ अग्रसरताका साथ लाग्नुपर्नेमा जोडदिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यद्वय रामजी बराल, राजीव पहारी र जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले सिमसार क्षेत्रको जगेर्ना गर्न सबै आआफ्नो स्थानबाट लाग्नुपर्नेमा जोडदिए ।

कार्यक्रममा गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी प्रमुख अनुप गुरुङले सिमसार क्षेत्रको विषयमा प्रस्तुति राखेका थिए । सोही अवसरमा सिमसार र पानी विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width