मुस्ताङका सुन्दर थकालीलाई सिर्जनशील पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
माघ १, २०७७
sundar thakali sammal

बागलुङ । सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार बिहीबार प्रदान गरिएको छ ।

आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट नगद १० हजारसहित थकालीलाई सम्मान गरिएको हो । उक्त सम्मान तथा निर्वतमान संघीय सांसद मनकुमारी केसी र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरे । थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष हुन् ।

धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत) दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी) राम थापा, संगम घर्ती (बागलुङ)लाई प्रदान गरिएको थियो ।

समाजमा विद्यमान भड्किलो विवाहविरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजार रुपैयाँको अक्षय कोष आदर्श सञ्चार सहकारीमा स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ । अहिले उक्त कोषको रकम १ लाख पुर्‍याइएको छ ।

यसैगरी यस वर्षको आदर्श विशेष सम्मान गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । सपुतलाई नगद २५ हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका गायक सपुतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी बताइन् ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्रमा समेत डेब्यु गरेका छन् । आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासंघका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width