‘गाउँ फर्क प्याराप्यारी’

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७७
sunrise

महाशिला ५ चिसापानी क्षेत्रबाट देखिएकाे सूर्याेदय । (फाेटाेः महाशिला गाँउपालिकाकाे फेसबुक पेजबाट)

पर्वत । महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो ।

गाउँमै स्वरोजगार सिर्जना गर्ने र सोही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फर्काई स्वदेशमै केही गरी उत्पादन र आयआर्जनसँग जोडी उद्यमी बनाउन यो कार्यक्रम शुरु गरिएको हो । उनले भने, “यो कार्यक्रमअन्तर्गत कुनै उद्यम व्यवसाय गर्न चाहने युवायुवतीलाई ब्याजमा अनुदान दिइनेछ ।” गाउँपालिकाले बनाएको कार्यविधिअनुसार कम्तीमा तीन वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुनसक्ने अध्यक्ष पौडेलले जानकारी दिए ।

यसले बढ्दो पलायन र बेरोगार युवायुवती दुवैको दर कम गर्ने र गाउँपालिकामा रहेको गरिबीको दर घट्दै जाने गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसिआएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी गाई, भैँसी न्यूनतम तीन वा सोभन्दा माथि, कुखुरा ५ सय वा सोभन्दा माथि, बङ्गुर ३० वा सोभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्ने छ । पालिकाले अधिकतम रु तीन लाखको १२ प्रतिशतको दरले अधिकतम दुई वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ ।

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्ने गरी आवेदन माग गरिएको समेत उनले बताए ।

यसैबीच गाउँपालिकाले सूचना जारी गर्दै पेशा व्यवसाय गर्न इच्छुक युवायुवतीलाई १५ दिनभित्र आवेदन दिन माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती यो कार्यक्रमबाट लाभान्वित हुने पालिकाको विश्वास छ । विदेश गएका तर गतिलो कमाइ गर्न नसकेकासमेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले यसअघि ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोअन्तर्गत ६ सयभन्दा बढीले रोजगारीसमेत पाइसकेका छन्

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width