ऋषिङका कृषकलाई प्रोत्साहन रकम

रासस
भाद्र २१, २०७७
Rishing

तनहुँ, २१ भदौ । तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई कृषिमा प्रोत्साहित गर्न प्रोत्साहन रकम वितरण गरेको छ । कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत गाउँपालिकाले वडा नं ८ का कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार उक्त वडाका दुई जना बाख्रापालकलाई जनही रु १३ हजार, बङ्गुरपालकलाई जनही रु ११ हजार, एक जना माछापालकलाई रु पाँच हजार र एक जना कुखुरापालकलाई रु पाँच हजारका दरले रकम वितरण गरिएको छ ।

‘कृषि क्षेत्रमा राम्रो काम गर्ने कृषकलाई पुरस्कृत गर्न प्रोत्साहन रकम वितरण गरेका हौँ’, उनले भने, ‘यसले कृषकलाई कृषितर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको विश्वास छ ।’ गाउँपालिकाले सबै वडाका उत्कृष्ट कृषकलाई प्रोत्साहन रकम वितरण गर्ने तयारी गरेको छ । बाँकी सात वडाका कृषकलाई पनि प्रोत्साहन रकम वितरण गरिनेछ । ‘कार्यविधिअनुसार सबै वडामा कृषि पेशामा अब्बल कृषक छनोट गरेर प्रोत्साहन रकम वितरण गर्न लागेका हौँ’, उनले भने ।

प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रम गत आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम हो । कोभिड–१९ को प्रभावका कारण ढिला गरी कृषकलाई रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अगाडि आठवटै वडाका २०/२० कृषकलाई जनही रु २० हजारका दरले अनुदान रकम वितरण गरिसकेको छ । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकालाई कृषिमा समृद्ध बनाउने लक्ष्य राखिएको र कृषकलाई सहयोग गर्ने कुरामा गाउँपालिका सदैव प्रतिबद्ध रहेको जानकारी दिए । ‘कृषकलाई कृषि पेशातर्फ आकर्षित गराउन गाउँपालिकाले अनुदानको व्यवस्था गरेको छ, यसले गाउँपालिकालाई पनि कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्छ’, उनले भने ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दे गाउँपालिका–७ हर्कपुर निवासी हर्कबहादुर राना मगरको परिवारलाई दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । क्यान्सर रोगबाट निधन भएका उनका परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु २० लाख दाबी भुक्तानी गरेको हो ।

उक्त रकम इन्स्योरेन्स लिमिटेडका दमौली शाखा प्रबन्धक जगदीश काफ्लेले स्वरानाका श्रीमती दमन्ता रानामगरलाई हस्तान्तरण गरे । हर्कबहादुरले कम्पनीको काठमाडौँ शाखाबाट दुई वर्ष वैदेशिक रोजगार बीमा गरेका थिए । कागजपत्र पेश गरेको २७ दिनमा कम्पनीले मृतकका परिवारलाई दाबी भुक्तानी दिएको काफ्लेले जानकारी दिए ।

‘काठमाडौँ गएर भुक्तानी लिन अहिलेको परिस्थितिमा सम्भव नभएकाले सबै कागजपत्र मिलाएर घरमै पुगेर रकम हस्तान्तरण गरेका हौं’, उनले भने । उनका अनुसार उक्त रकममध्ये रु १३ लाख कम्पनीको तर्फबाट र रु सात लाख वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत प्रदान गरिएको हो । मृतककी श्रीमती दमन्ताले बीमा साँच्चिकै आर्थिक सुरक्षा दिने छाता रहेको प्रत्याभूति भएको बताए । सोही क्रममा उहाँले रु तीन लाख प्रिमियम एकमुष्ट भुक्तानी गरेर रु चार लाख ५२ हजार बीमाङ्कको बीमा गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width