व्यासमा सार्वजनिक यातायात सञ्चालन अनुमति

Avatar आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७

पोखरा ।  व्यास नगरपालिकाले भदौ २१ देखि नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ ।

क्षमता अनुसारमात्र यात्रु राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर लिइ बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न खुला गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

गृहमन्त्रालय र छिमेकी पालिकाहरुले तोकेको विषयहरुमा सोही बमोजिम बन्दाबन्दी हुने गरी नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको हो ।

नगरपालिकाले भदौ १ गतेदेखि १२ गतेसम्म व्यापार, व्यवसाय, यातायातका साधन र भेला सम्मेलन बन्द गर्ने निर्णय गरेकोमा १३ गतेदेखि व्यापार व्यवसाय स्वास्थ्य मापदण्डलाई पालना गर्दै सञ्चालन गर्ने गरी बन्दाबन्दी खुकुलो पारेको थियो ।

यस्तै, आइतबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएपनि कोरोनाविरुद्ध आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।